site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहित यी जिल्लाका नदी र खोलामा आकस्मिक बाढीको जोखिम
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम छ । 

मंगलबार बिहानको मापनअनुसार नारायणी, वाग्मती, कर्णाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ । कोसी, महाकाली र यीनका सहायक नदीहरूको बहाव सतर्कता आसपासमा छ । 

कञ्चनपुर र आसपासका जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

दोलखा, सिन्धुपाल्चोक, रामेछाप, हुम्ला, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भएर बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ । केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको विभागले बताएको छ । 

इलाम, झापा, मोरङ, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, डोल्पा, मुगु, बर्दिया र आसपासका जिल्ला भएर बग्ने केही नदी तथा खोलाको बहाव उल्लेख्य बढ्नेछ । आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान रहेको विभागले बताएको छ । 

दिउँसो कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्