बुटवल । तिज मनाएर पञ्चमीपछि घर फर्किएकी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ की ३४ वर्षीया सुमित्रा गुरुङ भदौ १३ गते बिहानैदेखि सम्पर्कविहीन भइन् । उनको घर र माइती नजिकै थियो । तर, उनलाई न छिमेकीले देखे न माइतीले केही चाल पाए ।
घरमा नौ वर्षीया छोरी थिइन्, श्रीमान् किरङ गुरुङ थिए । तर, दुवैले सुमित्रा हराएकोबारे खुलेर बोलेनन् ।
किरण र सुमित्रा दुवैको दोस्रो विवाह हो । सोधपुछ गर्दा किरणले सुमित्रा अर्को विवाह गरेर गुल्मीको धुर्कोट गएकोसम्म भन्न भ्याए । तिज मनाएर घर फर्कीएकी छोरीको अत्तोपत्तो केही नभएपछि माइती पक्ष र छिमेकीले प्रहरी गुहारे ।
प्रहरीलाई समेत किरणले श्रीमतीबारे खुलेर केही भनेनन् । तर, एकजना छिमेकी किरणको घरभित्र पुग्दा घरको भित्रपट्टि खनिएकोजस्तो देखेका थिए । यही 'क्लू'का आधारमा प्रहरीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लले जानकारी दिए ।
मल्लका अनुसार, प्रहरीले अनुसन्धान गर्दा भान्सामा सडेको सुमित्राको शव फेला परेको हो । ‘‘एकजना छिमेकीले घरभित्र माटो समथल नभएको भन्ने कुरा गर्नुभयो । के रहेछ भनेर हेर्न जाँदा त्यहाँ हामीले सुमित्राको शव फेला पार्यौँ,’’ उनले बाह्रखरीसित भने ।
मल्लका अनुसार, घरमा तीन जनामात्रै थिए– सुमित्रा, किरण र नौ वर्षीया छोरी । किरणले छोरीलाई त्रास देखाएका थिए । उनले छोरीलाई भनेका थिए– कतै केही भनिस् भने तँलाई पनि मार्छु ।
मल्लका अनुसार, बुवाकै डरका कारण उनले कसैलाई केही बताएकी थिइनन् । तर, प्रहरीले सम्झाउँदै छोरीलाई मावली परिवारको जिम्मा लगाएको थियो । सुरक्षाको प्रत्याभूत गराएपछि बालिकाले पनि शव गाडेको सूचना दिएकी थिइन् ।
सोमबार बेलुका शव फेला परे पनि राति भएकाले प्रहरीले मंगलबार (आज) बिहानमात्र पोस्टमार्टमको प्रक्रिया अगाडि बढाएको थियो ।
प्रहरीका अनुसार, शव भेटिएपछि किरणलाई पक्राउ गरिएको छ । मंगलबार पक्राउ परेका किरणले घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किरणको ससुरालीसँग पहिलेदेखि नै राम्रो सम्बन्ध नरहेको खुलेको छ । किरणलाई सुमित्रा माइतीघर गएको मन पर्दैनथ्यो । यतिसम्म कि माइतीघरका सदस्यसँग नजिक भएको पनि किरणलाई मन पर्दैनथ्यो । यही विषयलाई लिएर उनीहरूबीच पटकपटक विवाद भएको माइती पक्षलाई खुलेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समय महिला हिंसाका घटना बढिरहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा ६७ वटा घरेलु हिंसाका मुद्दा प्रहरीमा दर्ता भएका छन् । जसमा मिलापत्र हुनेको संख्या ४५ रहेको छ । यस्तै, ६ घटना अदालत गएका छन् । अरू १६ मुद्दामा कारबाही भएको प्रहरीले जनाएको छ ।
