काठमाडौं । कीर्तिपुर नगरपालिका–४ दुधपोखरीका १६ वर्षीय बिकेन खत्रीको अधिकांश समय घर–अस्पताल आऊजाऊ गर्दैमा बित्छ ।
चार महिना अघिसम्म उनको दिनचर्या अर्कै थियो । उनी घर नजिकै रहेको सशस्त्र प्रहरी वलले सञ्चालन गरेको स्कुल जान्थे । पढ्थे, खेल्थे अनि होस्टलमा फर्किन्थे । फुटबलका प्रतियोगितामा उनी सहभागी हुन्थे ।
“चार महिना भयो, स्कुल जान पाएको छैन । फुटबल खेल्न पनि पाएको छैन,” बिकेनले बाह्रखरीसँग भने ।
‘किन त ?’
“बिरामी भएँ,” उनले आँखा रसिला बनाउँदै भने ।
‘कस्तो विरामी ?’
उनी एकछिन रोकिए, अनि भने, “बोनम्यारो क्यान्सर । लिम्फोमा ए एल ए एल एल भन्ने ।”
बिकेन कक्षा १० मा अध्ययन गर्दै थिए । एसईई दिनु पर्ने भएकोले उनले पढाइमा बढी नै ध्यान दिएका थिए । फुटबल उनलाई असाध्यै मन पर्छ । राम्रो खेल्थे पनि । राम्रो खेलेकै कारण गत वर्ष पुसमा सम्पन्न ‘एन्फा यु–१६ युथ लिग’ मा उनी सशस्त्र प्रहरी बलको टिममा परेका थिए ।
“म डिफेन्डर थिएँ,” एन्फा यु–१६ युथ लिगमा ३ नंं. जर्सीमा मैदानमा उत्रिएका बिकेनले भने । यसपटक पनि उनले राम्रो तयारी गरेका थिए । बिडम्बना उनी ३ नं. जर्सीमा मैदानमा उत्रिन पाएनन् ।
“बिरामी नभएको भए यस पटक पनि पनि टिममा पर्थें । राम्रो तयारी गरेको थिएँ,” बिकेनका आँखा फेरी रसाए ।
चार महिनाअघि अर्थात् २०८२ गत वैशाख १९ गते उनलाई एक्कासि ज्वरो आयो । सामान्य होला भनेर सिटामोल खाए, ठीक भयो । वैशाख २४ गते झन् ठूलो ज्वरो आयो । ज्वरोको डिग्री १०४ पुगेपछि उनी अभिभावकका साथ नजिकैको फार्मेसी गए ।
फार्मेसीले साधारण औषधि दिएर पठायो । औषधिले ज्वरो कम भयो । यसको दुई दिन पछि घाँटीमा फोका देखियो ।
“त्यसपछि सशस्त्र प्रहरी वलको अस्पताल गयौं । जचाउँदा टिभीको शंका गरियो । विभिन्न परीक्षण गर्दा टिभी पनि देखिएन,” बिकेनका बुबा रोशनले बाह्रखरीसँग भने ।
केही दिनपछि भिडियो एक्सरे गर्न समय लिइयो । तर अगाडि नै गाह्रो भएपछि बिकेनलाई कीर्तिपुर अस्पतालमा इमर्जेन्सीमा भर्ना गरियो । अस्पताल जाँच गर्दा शरिरमा रगत घटेको देखियो ।
“इमर्जेन्सी भर्ना भएर जाँच गर्दा शरिरमा लगभग पाँच प्वाइन्ट रगत दखियो । त्यसपछि दुई प्याइन्ट रगत चढाइयो । अनि शरीरमा रगत ९.२ प्वाइन्ट पुग्यो । फेरी रगत घट्यो । त्यसपछि समस्या गम्भीर हो भन्ने भयो र पाटन अस्पताल गयौं,” करिव चार महिना अगाडि घटना बिकेनले सुनाए ।
पाटन अस्पतालमा परीक्षण र जाँच गरेपछि रोग पत्ता लागेको थियो– बोनम्यारो क्यान्सर ।
त्यसपछि उनको पढाई छुट्यो, फुटबल छुट्यो । अस्पताल आउ–जाउमै समय बितिरहेको छ । “बैशाखबाट खेल्न पनि छाडे, स्कुल जान पनि छाडे । रोगले छिट्टै समात्छ । औषधि चलाइराछ, त्यही भएर,” बिकेनले भने ।
आफू ठीक हुनेमा बिकेन ढुक्क छन् । तर उपचारका लागि ठूलो रकम चाहिन्छ, जुन उनको घरको आर्थिक अवस्थाले भ्याउँदैन । उनको चिन्ता यसैमा छ, “कतै पैसा नभएर उपचार नपाउने त होइन ?”
बिकेनको बुबा रोशनको चिन्ता पनि यसैमा छ । कतै आर्थिक अभावकै कारण छोराले उपचार नपाउने त होइन । “डाक्टरले उपचार गर्न एक करोड २० लाख रुपैयाँ जति लाग्छ, तयार गर्दै गर्नु भन्नुभएको छ,” लामो सयमदेखि सीताराम गोकुल मिल्क प्रा.लि.को गाडी चलाउँदै आएका रोशनले भने ।
बिकेनको परिवारमा चार जना छन्– बुबा, आमा र भाई । सम्पत्तिको नाममा एक तले घर र सोही घरले चर्चेको जग्गा । “मैले जग्गा राखेर ऋण लिने प्रक्रिया पनि सुरु गरेको छु,” बिकेनका बुबा रोशनले बताए ।
छोरालाई लागेको रोगका विषयमा रोशनले तीन महिना त कसैलाई भनेनन् । उपचारमा संलग्न डाक्टरले उपचारका लागि एक करोड २० लाख रुपैयाँ तयार गर्नु भनेपछि बल्ल उनले अरुसँग मुख खोलेका थिए ।
“मैले यताउति गरी चलाइरहेको थिएँ । अब कसरी उपचार गर्ने होला भनेर चिन्ता पर्यो । अनि स्थानीय दाजुभाइहरुसँग सल्लाह गरेको थिएँ,” रोशनले सुनाए ।
रोशनको कुरा सुनेपछि स्थानीय अभियन्ता तथा नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाको सभापति मुरारी विष्टले फेसबुकमा ‘बोनम्यारो क्यान्सर पीडित बिकेन खत्री बचाउ अभियान’ सुरु गरेका थिए । यस अभियानको उद्देश्य बिकेनका लागि आवश्यक उपचार खर्चको जोहो गर्नु हो ।
“हामीले गत साउन २० गतेबाट यो अभियान सुरु गरेका हौं । हालसम्म व्यक्तिबाट २६ लाख ६० हजार रुपैयाँ प्राप्त भइसकेको छ । रकम संकलन कार्य जारी छ,” विष्टले बाह्रखरीसँग भने ।
रोशनका अनुसार, बिकेनलाई किमो चलाइरहिएको छ । बिनेको दोस्रो रिपोर्ट आएपछि उपचार कसरी अघि बढाउने भन्ने निर्णय लिइने डाक्टरले बताएका छन् ।
जति रकम उठेको छ त्यसले उपचारलाई धान्दैन । त्यसैले आफ्नो उपचारमा सबैतिरबाट सहयोग प्राप्त होस् भन्ने आशा बिकेनले गरेका छन् । सञ्चो भएपछि पढाई त पूरा गर्ने नै छन् । तर त्योभन्दा पनि ठूलो उनको सपना छ, राम्रो फुटबलर बन्ने । त्यसैले उनी भन्छन्, “मलाई बचाउनोस्, म राम्रो फुटबलर बन्छु ।”