site stats
बाह्रखरी :: Baahrakhari
खेल
मैत्रीपूर्ण खेलका निम्ति तयार छौँ : कप्तान चेम्जोङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै छ । काठमाडौंको दशरथ रंगशालामा भदौ २१ गते शनिबार र भदौ २४ गते मंगलबार नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुन लागेको हो । 

मैत्रीपूर्ण फुटबल खेल्नका लागि बंगलादेशको टोली पनि नेपाल आइसकेको छ । दुवै खेलको विबजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ । मैत्रीपूर्ण फुटबलका लागि आफुहरू तयार रहेको र जितका साथ ट्रफी आफ्नो पक्षमा पार्ने दुवै टोलीका कप्तान र मुख्य प्रशिक्षकले जनाएका छन् ।

मैत्रीपूर्ण फुटबलअघि शुक्रबार काठमाडौंमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मैत्रीपूर्ण खेलका लागि तयारी अवस्थामा रहेको र जित हासिल गर्ने बताए । घरेलु मैदानमा खेल हुने भएकाले पनि आफूहरू उत्साहित रहेको उनको भनाइ छ । 

त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले मैत्रीपूर्ण खेलमा जितको लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताए । उनले घरेलु मैदानमा राम्रो प्रतिस्पर्धा हुने र जित हासिल गर्ने जिकिर गरे ।

बंगलादेशका प्रशिक्षक र कप्तानले पनि बलियो टिम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए । 

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शनिबार साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि भीआईपीतर्फको टिकट एक हजार र सामान्य पारापिटतर्फको टिकट मूल्य ५०० रूपैयाँ तोकिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्