site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहमा कमी हुन नदिन सचेत हुनुपर्छ : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसेवक कर्मचारीले आफ्नो सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताएकी छन् । राष्ट्रको सेवा प्रवाहमा समर्पित भएकाले उनीहरूले आफ्नो काममा कमी हुन नदिने विषयमा ध्यानु दिनुपर्ने भण्डारीले बताएकी हुन् ।

निजामती सेवा दिवसको अवसर पारेर चन्द्रलोक प्रतिष्ठानद्वारा शनिबार (भदौ २१) काठमाडौंमा आयोजित एक कार्यक्रमलगत्तै सञ्चारकर्मीसँग उनले राष्ट्रसेवक कर्मचारीको कामलाई प्रभावकारी बनाउन सरकारले अनुगमन र मूल्यांकनको परिपाटीलाई कडाइका साथ लागु गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने भएकाले राष्ट्रसेवक कर्मचारीको निगरानी राज्यले कडाइका साथ गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो ।

“निजामती क्षेत्र राज्यको महत्त्वपूर्ण अंग हो । खास गरेर सेवा प्रवाहको क्षेत्रमा राष्ट्रको यो पिलर हो । उनीहरूको सो भूमिका निर्वाह गरिरहेका पनि छन्,” उनले भनिन्, “तर, कहिलेकाहीँ एउटा रुखमा सबै सुन्तला पाक्दैनन् । कहिलकाहीँ झर्न पनि सक्छ । यसलाई मुख्य प्रवृत्तिकै रूपमा लिनु हुँदैन ।”

राष्ट्रसेवक कर्मचारीको योगदानलाई अवमूल्यन गर्ने काम पनि गर्न नहुने उनले बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्