site stats
बाह्रखरी :: Baahrakhari
खेल
डेम्बेले र डुए एक महिनाभन्दा बढी मैदानबाहिर रहने

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड ओस्मान डेम्बेले ६ हप्ता मैदानबाहिर रहने भएका छन् ।

फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत शुक्रबार युक्रेनविरुद्धको खेलमा डेम्बेले घाइते भएका थिए । पीएसजीले डेम्बेलेको स्वास्थ्य परीक्षणका क्रममा खुट्टामा चोट लागेको पुष्टि गर्दै ६ हप्ता मैदानबाहिर रहने जनाएको छ ।

“डेम्बेलेको दायाँ खुट्टामा गम्भीर चोट लागेको छ । उनी स्वस्थ्य हुन करिब ६ हप्ता लाग्ने अनुमान चिकित्सकको छ,” पीएसजीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डेम्बेलेसँगै उनको स्थानमा मैदान प्रवेश गरेका डेजाइरे डुए पनि चार हप्ता टोलीमा अनुपस्थित रहने पीएसजीले जनाएको छ ।

“उक्त खेलमा डेजाइरे डुएलाई पनि चोट लागेको छ । उनको पनि दायाँ खुट्टामा चोट लागेकाले चार हप्ता मैदानबाहिर बस्नुपर्ने हुन्छ,” पीएसजीले भनेको छ ।

उनी खेलको पहिलो हाफमा डेम्बेलेको स्थानमा मैदानमा प्रवेश गरेका थिए । खेलको ८१औँ मिनेटमा उनी घाइते भएका थिए ।

अब पीएसजीले यी दुई खेलाडीबिना च्याम्पियन्स लिगमा एट्लान्टा र फ्रान्सको शीर्ष डिभिजन लिग लिग वानमा लेन्सविरुद्ध चुनौती पेस गर्नेछ ।

च्याम्पियन्स लिगको उपाधि रक्षामा रहेको पीएसजीले यही भदौ २६ (सेप्टेम्बर ११)मा एट्लान्टाविरुद्ध खेल्ने तालिका छ । त्यसको चार दिनपछि पीएसजीले भदौ २९ (सेप्टेम्बर १४)मा घरेलु मैदान पार्क डेस प्रिन्सेसमा लेन्सविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्