site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्रीको प्रश्न– भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनौँ भने हामी के भन्छौँ ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले यहाँको कानुन मान्नुपर्ने बताएका छन् । सोमबार (भदौ २३) राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सामाजिक सञ्जाल निष्क्रियको विषय उठाइएपछि उनले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन मात्र सरकारले आग्रह गरेको उनले उल्लेख गरे । काम गर्न र चलाउन नदिने भन्ने सरकारको उद्देश्य नभएको उनले स्पष्ट पारे ।

नेपालमा सूचीकरण हुनू भन्दा पनि नमानेको उनले बताए । सरकारले आफ्नो देशभित्र कुन संस्थाले के काम गरिरहेको छ भन्ने थाहा पाउनुपर्ने उनले तर्क गरे । त्यसनिम्ति संस्थाहरू सूचीकरण गर्नुपर्ने उनको भनाइ छ ।

कुनै पनि संस्थाले देशको कानुन मान्दिनँ भन्न नपाउने उनले बताए । भविष्यमा कुनै संस्था आएर ‘तिम्रो देश मान्दैनौँ भन्यो भने हामी के भन्छौँ ?’ भन्ने उनले प्रश्न गरे ।

समिति बैठकमा गृहमन्त्री लेखकको भनाइ पढ्नोस्–
सामाजिक सञ्जालमा केही अवरोध भएको कारणले समस्या पैदा भएको छ । केही जटिलता भएको छ । त्यो मैले स्वीकार गर्छु । अब कतिपय मानिसहरू, सामाजिक सञ्जालका प्रयोगकर्ताहरू धेरै बढेका छन् । कतिपय विद्यार्थीले त्यसैबाट सिक्ने कुरा पनि छ । कतिपयको बिजनेस पनि छ । कतिपयको आफ्ना घरपरिवारका मान्छेसँग विदेशमा सम्पर्क गर्नुपर्ने कुरा छ । यी अप्ठ्याराहरू छन् । यो सत्य कुरा हो । तर, त्यसको अर्को पाटो पनि छ, जम्माजम्मी सरकारले सूचीकरण गर भनेको हो नि ! तँलाई दर्ता गर्दैनौँ, मेरो देशमा काम गर्न दिँदैनौँ, यहाँ तिमीले त्यो चलाउने व्यवस्था हुँदैन भन्ने हुँदै होइन, जम्माजम्मी सूचीकरण । मलाई लाग्छ, सूचीकरण भनेको के हो ? हामी सबै बुझ्छौँ । सूचीकरण भनेको त्यो संस्थालाई इनलिस्ट गर्ने हो । सरकारले मेरो देशमा यो यो संस्था काम गर्दै छ भनेर रिकग्नाइज गर्ने हो । त्यसका पनि केही आचारसंहिता होलान् । एउटा संस्थाले हाम्रो देशमा काम गरिराखेको छ, अनि यो देशमा त्यो संस्थासँग सम्बन्धित विषयमा सरकारले कसैलाई भन्नुपर्‍यो भने कसलाई भन्ने हो भन्ने मान्छे चिन्नु परेन ? अथवा, मेरो देशमा आएर काम गर्ने संस्थालाई सूचीकृत गर भनेर सरकारले भन्न पाउँदैन ? अनि, तेरो कानुन मान्दैन, तेरो संविधान मान्दैन, भोलि कुनै संस्था आएर तेरो देश मान्दैनौँ भन्यो भने हामी के भन्छौँ ? ठिकै छ, अब तँ नमाने नमान न, तँ ठूलो छस्, धेरै मान्छे तँसँग सम्बन्धित छन् । कसैका व्यापार चलेका छन्, कसैका पढाइ चलेका छन् । अब नेपाललाई नमानेर के भयो त भन्छौ हामी ? त्यही हो त मुलुक ? होइन होला नि !’ न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्