काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ को २२औँ संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको स्पोर्ट्स नेपालको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि. (केल्मी स्पोर्ट्स) सँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।
२०६० सालदेखि हुँदै आएको यस अवार्ड पहिलोपल्ट राजधानीबाहिर गरिँदैछ । आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टर, पोखरामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र कामरु ट्रेडिङ प्रालि (केल्मी स्पोर्ट्स नेपाल)का प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपालको खेलकुद विकास र प्रवर्द्धनमा सदैव साथमा रहने बताए । कामरु ट्रेडिङ प्रा.लि. अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्रीवितरण गर्ने नेपालको आधिकारिक संस्था हो ।
सहप्रायोजकबापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउनेछ । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पाँच विधा पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा र वर्ष उत्कृष्ट प्रशिक्षक विधाको समान पाँचजना मनोनयन छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) छन् । उनीहरूको भोटिङ डिजिटल वालेट खल्ती बाई आइएमइबाट भइरहेको छ ।
त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र मुख्य प्रायोजक गोल्छा ग्रुप फेसबुक पेज पल्सर नेपालबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेलकुद संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यले मत दिन पाउनेछन् । मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को तयारीमा तीव्रता दिइएको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ । पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।