site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘जेनजी’को प्रदर्शनमा साथ दिँदै खेलाडी, टेबलटेनिसकी सिक्काले विभागीय टिमबाट नखेल्ने

काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनमा खेलाडीले पनि नैतिक समर्थन जनाएका छन् ।

सोमबार (भदौ २४) काठमाडौंसँगै देशभर सुरु भएको प्रदर्शनको पहिलो दिन प्रहरी चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । त्यसपछि क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिसलगायत खेलका खेलाडीले जेनजीको प्रदर्शनप्रति समर्थन जनाएका हुन् ।

टेबलटेनिसकी सिक्का सुवालले आफू अब कहिल्यै विभागीय टिमबाट नखेल्ने जनाएकी छन् । “म अबदेखि कहिल्यै विभागीय टिमको प्रतिनिधित्व गर्दिनँ (खेलाडी वा प्रशिक्षकको रूपमा),” सिक्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

सोमबारै राति नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले पनि प्रदर्शनमा सरकारले गरेको दमनप्रति असन्तुष्टि व्यक्त गरेका थिए । “आशा बोकेर हिँडेका उनीहरू आज सहिद बने । अधुरा सपना र आकांक्षा, हाम्रो मातृभूमिका सन्तान, हाम्रो युवा... किन ? निःशब्द । हार्दिक श्रद्धाञ्जली,” रोहितले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै, नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जेनजीको प्रदर्शनमा समर्थन जनाएका छन् । मंगलबार (भदौ २४) बिहान एक भिडियो सार्वजनिक गर्दै उनले पछिल्लो २४ घण्टामा भएको घटना निकै विचलित बनाउने रहेको बताए । उक्त भिडियोमा खड्काले मध्यावधि निर्वाचनको माग समेत गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले पनि सामाजिक सञ्जालमार्फत जेनजीको प्रदर्शनमा सरकारले गरेको दमनप्रति विरोध जनाएका छन् ।

राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले फेसबुकमै ‘यो संघर्ष यतिमै अन्त्य हुँदैन, हाम्रो पुस्ताको आवाज अझ बलियो हुनेछ’ लेखेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्