काठमाडौं । नेपाली सेनाले सार्वजनिक सम्पत्तिमा गरिएको आगजनी नियन्त्रण गर्न तीन बारुणयन्त्र प्रयोग भइरहेको जनाएको छ ।
“तीनवटा बारुणयन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको छ । त्यसैगरी, काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ,” सेनाद्वारा बुधबार (भदौ २५) जारी विज्ञप्तिमा भनिएको छ ।
सैनिक अस्पतालहरूमा २३ घाइते नेपाल प्रहरी र तीन गैरसैनिक व्यक्तिहरूको उपचार गरिएको सेनाले जनाएको छ ।
मंगलबार (भदौ २४) राति १० बजेदेखि देशैभरि नेपाली सेनालगायत सुरक्षा निकाय परिचालन भएको छ । बुधबार बिहान १० बजेसम्म लुटपाट, आगजनी र जिउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उच्छृंखल गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ ।