site stats
बाह्रखरी :: Baahrakhari
देश
सुर्खेतमा निषेधाज्ञा जारी, हट्यो कर्फ्यु
फाइल तस्बिर ।

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विशेष निषेधाज्ञा जारी राख्दै कर्फ्यु हटाएको छ । सम्भावित अस्थिरता तथा अवाञ्छित गतिविधि नियन्त्रणमा लिन भन्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ । 

एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने गरी २०८१ साउन २६ गते बिहान साढे ८ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लागु गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिएका छन् । 

निषेधाज्ञाको सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी  गरिएको बताएका छन् । उक्त आदेशको अवज्ञा गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासनले नागरिकलाई शान्ति सुरक्षाको दृष्टिकोणले सो क्षेत्रमा भिडभाड नगर्न तथा प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ ।

तीन दिनदेखि जेनजी आन्दोलनका कारण अस्तव्यस्त भएको वीरेन्द्रनगर सामान्य अवस्थातिर फर्कन थालेको छ । 

दुई दिनदेखि निषेधाज्ञा र कर्फ्युको कारण अत्यावश्यक बाहेकका अन्य पसलहरू बन्द रहेको वीरेन्द्रनगरमा अहिले फलफूल, खाद्यान्नलगायत पसल खुल्न थालेका छन् ।

तीन दिन सुनसान रहेको वीरेन्द्रनगर बसपार्कमा चहलपहल सुरु भएको छ भने नेपालगन्ज, दैलेखलगायत जिल्लामा जान सवारी सधनसमेत सञ्चालनमा आउन लागेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्