site stats
बाह्रखरी :: Baahrakhari
देश
नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दी पक्राउ

नेपालगन्ज । बाँकेको नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ । उनीहरूमध्ये एकजनाले इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसर्मपण गरेका हुन् ।

अरू ६ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए । “प्रहरी कार्यालयमा रहेकालाई पनि आजै कारागारमा ल्याउने तयारी भएको छ,” उनले भने ।

दुई दिनअघि कारागारबाट १४७ कैदीबन्दी फरार भएका थिए । कारागारमा ५८५ कैदीबन्दी थिए । जेलर भुसालले फरार कैदीबन्दीको खोजी भइरहेको बताए ।

दुई दिनअघि नै नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँचजनाको मृत्यु समेत भएको थियो । उक्त घटनामा अरू सातजना घाइते भएका थिए ।

नौवस्ता कारागारको बाल सुधारगृहबाट ७६ र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट १२२ बालबन्दी भागेका थिए । जयन्दु बाल सुधारगृहमा २२८ बालबन्दी थिए । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्