site stats
बाह्रखरी :: Baahrakhari
देश
भारत भाग्दै गरेका ६ कैदी समातिए

बैतडी । डडेलधुरा कारागारबाट भागेका ६ कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले पाटन नगरपालिका–१, सकारबाट उनीहरूलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी र अछामका दुई/दुई र दार्चुला र बैतडीका एक/एक जना छन् ।

उनीहरू कर्तव्य ज्यान मुद्दा, जबर्जस्ती करणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ ।

‘जेनजी’को प्रदर्शनका कारण बुधबार (भदौ २५) बिहान डडेलधुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए । पक्राउ परेका सबैलाई डडेलधुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताए ।

कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरूलाई खोज्न ‘अपरेसन’ चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी दीपककुमार रायले बताए । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्