site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यका प्रहरीका सबै भवनमा आगजनी

काठमाडौं । ‘जेनजी’ समूहको प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा आगजनी गरिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित १३ प्रहरी वृत्त पूर्ण रूपमा जलाइएका हुन् ।

काठमाडौंका १४ मध्ये प्रहरी वृत्त मालीगाँउ मात्र जोगिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए । सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयपछि जेनजीले यही भदौ २३ गते प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर त्यही दिन नयाँ बानेश्वरमा १९ जनाले ज्यान गुमाए । त्यसपछि आक्रमक बनेका जेनजीले भदौ २४ गते तोडफोड र आगजनीमा उत्रिएका थिए ।

प्रदर्शनकारीले संसद् भवन, देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार, सर्वोच्च अदालत, शीतलनिवासलगायत सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी गरेका हुन् । प्रदर्शनका क्रममा हालसम्म ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । ज्यान गुमाएका मध्ये तीन प्रहरी रहेका एसएसपी खनालले जानकारी दिए । प्रहरीले प्रदर्शनबारे आन्तरिक समीक्षा गरिरहेको उनको भनाइ छ ।

प्रदर्शनकारीले आगो लगाएका केही प्रहरी कार्यालय भने स्थानीयले पुनर्निर्माण गर्दै छन् । प्रहरी वृत्त स्वयम्भूलाई बिहीबार स्थानीयले पुनर्निर्माण गरेर बस्ने मिल्ने अवस्थाको बनाएका छन् । प्रहरी प्रभाग भैँसेपाटी, पुल्चोकको भवन पनि पुर्निर्माण गरिएको छ ।

प्रहरी प्रभाग इमाडोलको कार्यालयल बिहीबार नै स्थानीयले पुनर्निर्माण गरिदिएका छन् । त्यहाँका प्रहरी कर्मचारीको लत्ताकपडा सबै जलेको थियो । थ्रेड गार्मेन्टका सञ्चालक कृष्ण तिमिल्सिनाले उनीहरू सबै प्रहरीका निम्ति ट्रयाक सुट उपलब्ध गराएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्