site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीका ६ जिल्लामा ‘भएन आगजनी र तोडफोड’
प्रदर्शनको समयमा विराटनगरको दृश्य ।

विराटनगर । ‘जेनजी’ समूहको प्रदर्शनका क्रममा कोसी प्रदेशभरि सरकारी र निजी गरी १२५ भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको पाइएको छ । तीमध्ये ८३ सरकारी र ४२ निजी सम्पत्तिका संरचना हुन् ।

प्रदेशका ६ जिल्लामा भने आन्दोलनको स्वरूप नै भिन्न थियो । त्यहाँ प्रदर्शन त भयो, तर शान्तिपूर्ण । सरकारी कार्यालय र निजी सम्पत्तिमा आक्रमण र आगजनी गरिएन । बरु, प्रदर्शनकारी धर्नामा बसे । सरकारलाई ज्ञापनपत्र पठाए ।

यसबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शुक्रबार (भदौ २७) क्षति संकलनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनानुसार, पाँचथर, ओखलढुंगा, खोटाङ, धनकुटा, भोजपुर र संखुवासभामा प्रदर्शन शान्तिपूर्ण थियो । ती जिल्लामा धर्ना र ज्ञापनपत्र बुझाउने कार्य गरियो । तर, आगजनी वा तोडफोडका घटना नभएको इन्सेकले जनाएको छ ।

इन्सेक कोसी प्रदेश कार्यालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनानुसार, प्रदर्शनका घटना कोसीका १४ मध्ये आठ जिल्लामा प्रत्यक्ष देखिएको छ । ती जिल्लामा झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुम हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सबैभन्दा बढी २२ सरकारी र नौ निजी गरी ३१ संरचनामा क्षति पुगेको छ । मोरङमा २० सरकारी र ६ निजी गरी २६ संरचनामा क्षति पुगेको छ । सुनसरीमा १६ सरकारी र १२ निजी गरी २८ संरचनामा आगजनी र तोडफोड गरिएको पाइएको छ ।

इलाममा चार सरकारी र चार निजी, ताप्लेजुङमा तीन सरकारी र चार निजी र सोलुखुम्बुमा एक सरकारी संरचनामा तोडफोड गरिएको प्रतिवेदनमा उल्लेख छ । तेह्रथुममा ओलीको जन्मघरमा आगजनी गरिएको थियो ।

यो विवरण इन्सेक कोसी प्रदेश कार्यालयले आफ्ना प्रतिनिधि र ‘मिडिया मोनिटरिङ’मार्फत संकलन गरेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्