काठमाडौं । इंग्लिस क्लब चेल्सीका फरवार्ड लियाम डेलाप १० साताभन्दा बढी समय मैदानबाहिर रहने भएका छन् । डेलाप यसअघि अगस्ट ३० मा सम्पन्न फुलहमविरुद्धको खेलमा घाइते भएका थिए ।
शुक्रबार चेल्सीका मुख्य प्रशिक्षक इन्जो मारेस्काले यही चोटका कारण डेलाप १० साताभन्दा बढी समय मैदानबाहिर रहने जनाएका हुन् । “मेरो अनुमानमा डेलापलाई चोटबाट स्वस्थ हुन १० देखि १२ हप्ता लाग्न सक्छ,” शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मारेस्काले भने ।
बेलायतको लन्डनस्थित स्ट्याम्पफोर्ड रंगशालामा सम्पन्न उक्त खेलमा चेल्सी २–० ले विजयी भएको थियो । खेल १४औँ मिनेटमा डेलाप घाइते भएपछि मैदानबाट बाहिरिएका थिए । चेल्सीले डेलापलाई ३० मिलियन पाउन्डमा इप्सबिच टाउनबाट भित्र्याएको थियो ।