site stats
बाह्रखरी :: Baahrakhari
देश
धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चारजनाको शव फेला

धरान (सुनसरी) । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला परेको छ ।

जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी  हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार, आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए । मृतकमध्ये तीनजनाको शव चौथो तलामा र एकजनाको दोस्रो तलामा फेलापरेको उनले जानकारी दिए ।

प्रवक्ता खतिवडाले भने, “जलेको अवस्था रहेकाले शवहरूको पहिचान तत्काल सम्भव नभएको र अब डीएनए परीक्षणबाट मात्र पहिचान हुनेछ ।” सबै शवको मुचुल्का उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए ।

भदौ २४ गते बेलुका करिब ७ बजे ‘जेनजी आन्दोलन’का क्रममा एक समूहले भाटभटेनी सुपरमार्केटको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । सो आगलागी आज बिहानमात्र नियन्त्रणमा आएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्