काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन्जी पुस्ताको प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीलाई फिर्ता हुन र प्रदशर्नकारीले नियन्त्रणमा लिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ ।
राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भन्दै आयोगमा जानकारी आएको बताइएको छ ।
बालसुधारगृहमा रहेका व्यक्तिहरू समेत सुधारगृहबाट भागेका भनी जानकारी आएको आयोगले जनाएको छ । यसबाट हुन सक्ने सुरक्षा जोखिमलाई आयोगले गम्भीररूपमा लिई अनुगमन गरिरहेको आयोगले बताएको छ ।
“कारागारबाट भागेका कैदीबन्दीहरूका कारण विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता एवं अपराध पीडित र तिनको परिवारमा मनोवैज्ञानिक असर परेको पाइएको छ,” आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “अधिकांश कैदीबन्दीहरु अझै कारागार प्रशासनको सम्पर्कमा नआएकोे पाइएको छ । सुरक्षा निकायले कैदीबन्दीहरुको खोजी कार्यलाई तीव्रता दिनुपर्ने देखिएको छ ।”
कारागार फिर्ता भई कानुनी शासनको सम्मान गर्नु कैदीबन्दीहरूको पनि दायित्व भएको आयोगले बताएको छ ।
प्रदर्शनको क्रममा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका हतियार र पोशाक प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको भन्दै आयोगले उक्त हतियारहरू पूर्णरूपमा अझै पनि फिर्ता नभएको बताएको छ ।
हतियारहरूको दुरुपयोग भई हिंसात्मक गतिविधि हुनसक्ने देखिएको भन्दै आयोगले भनेको छ, “सुरक्षा निकायको हतियार र पोशाक दुरुपयोग गर्नु गैरकानुनी कार्य मात्र नभई यस्तो गैरकानुनी कार्य रोक्न सहयोग गर्नु जिम्मेवार नागरिकको समेत कर्तव्य हो ।”