काठमाडौं । अल्बानिया एआई ‘मन्त्री’ नियुक्त गर्ने विश्वको पहिलोे देश बनेको छ । यो कुनै मानिस नभई पिक्सेल र कोडबाट निर्मित एक भर्चुअल मन्त्री हो, जसले पूर्ण रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)अनुसार काम गर्छ । यसको नाम डिएला राखिएको छ ।
प्रधानमन्त्री एडी रामाले हालै चौथोपटक चुनाव जितेको केही महिनापछि डिएलालाई आफ्नो मन्त्रिपरिषद्मा समावेश गरेका छन् । डिएलालाई सरकारी लगानीका परियोजना र सार्वजनिक टेन्डरमा हुने भ्रष्टाचार रोक्ने जिम्मेवारी दिइएको छ । तर, विपक्षी दलले आलोचना गर्दै यो ‘पब्लिसिटी स्टन्ट’ र संविधानविपरीत भएको जनाएको छ ।
अल्बानियाली भाषामा डिएलाको अर्थ ‘घाम’ वा ‘सूर्य’ हुन्छ । डिएलाले यसअघि पनि अल्बानियामा काम गरिसकेकी छन् । उनी एआई प्रविधिमा आधारित भर्चुअल सहायक थिइन्, जसले नागरिकलाई सरकारी कागजात प्राप्त गर्न मद्दत गर्थिन् । यसरी अल्बानियाली नागरिक पहिले नै डिएलासँग परिचित छन् ।
डिएलाले ‘इ–अल्बानिया’ प्लेटफर्ममा १० लाखभन्दा बढी मानिसलाई सहयोग गरिसकेकी प्रधानमन्त्री रामाको दाबी छ । तर, अब उनको उद्देश्य डिएलालाई एउटा साधारण च्याटबोटबट अगाडि बढाएर सरकारी कामको महत्त्वपूर्ण हिस्सा बनाउनु रहेको छ ।
ठूला विकसित अर्थतन्त्र अझै पनि पुराना तरिकामा अड्किएका छन् । तर, अल्बानियाले यो पहलबाट ठूलो फड्को मार्न सक्ने रामा बताउँछन् । रामाले आफ्नो उद्देश्य अल्बानियालाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त देश बनाउनु रहेको बताएका छन् ।
एआई मन्त्री बनाउनु एक प्रतीकात्मक कदम मानिएको छ । किनभने, अल्बानियाको संविधानानुसार मन्त्री बन्नका निम्ति मानिस वयस्क र सक्षम हुन आवश्यक छ । तर, मानिसको सट्टा एआईलाई छनोट गर्नुका धेरै फाइदा रहेको जनाइएको छ ।
डिएलाले न कहिल्यै सरकारी रहस्य बाहिर ल्याउनेछ न त भ्रष्टाचार वा खर्च घोटालामा फस्नेछ । यसलाई केवल बिजुली भए पुग्छ ।
गएको जुनमा प्रधानमन्त्री रामाले एक दिन अल्बानियामा डिजिटल मन्त्री र एआई प्रधानमन्त्री पनि हुन सक्ने बताएका थिए । त्यस बेला धेरै कम मानिसले यो यति छिटो वास्तविकतामा परिणत हुन्छ भन्ने सोचेको जनाइएको छ ।
डिएलाको नयाँ भूमिकाका विषयमा मिश्रित प्रतिक्रिया छ । विपक्षी डेमोक्रेटिक पार्टीले यसलाई ‘हास्यास्पद’ र ‘असंवैधानिक’ भनेको छ । केही मानिसले यसलाई राम्रो पहल मानेका छन् ।
वित्तीय सेवा कम्पनी बाल्कन क्यापिटलका संस्थापक अनिरा बज्रकतारी बिजाले प्रधानमन्त्री रामा प्रायः सुधारलाई नाटकीयताका साथ प्रस्तुत गर्ने भएकाले मानिसले यसलाई एउटा स्टन्ट मान्न सक्ने बताएका छन् । तर, यसलाई साँच्चै पारदर्शिता बढाउने र विश्वास कायम गर्ने प्रणालीमा बदल्न सकिएमा यो उपयोगी साबित हुन सक्ने बताइएको छ ।
भ्रष्टाचारविरोधी विज्ञ पनि एआईबाट फाइदा हुन सक्नेमा सहमत छन् । किंग्स कलेज लन्डनका डा. एन्डी होक्सहाजका अनुसार, एआईलाई सही तरिकाले प्रोग्राम गरिए यसले कम्पनीका दाबी पूरा गरिए वा छैनन् भन्ने सजिलै बताउन सक्छ ।
अल्बानिया भ्रष्टाचारसित लड्नुको मुख्य कारण ऊ युरोपेली संघमा सामेल हुने प्रक्रियामा छ । र, भ्रष्टाचार घटाउनुपर्ने सबैभन्दा महत्त्वपूर्ण सर्त छ । सन् २०२४ को भ्रष्टाचार सूचकांकमा अल्बानिया १८० देशमध्ये ८०औँ स्थानमा थियो ।
अल्बानिया लामो समयदेखि भ्रष्टाचारको समस्यासँग जुधिरहेको छ । युरोपेली संघका धेरै प्रतिवेदनमा अल्बानियामा भ्रष्टाचार तल्लो तहमा मात्र नभई उच्च तहसम्म फैलिएको उल्लेख छ, जसमा राजनीतिज्ञ, मन्त्री र ठूला अधिकारी पनि संलग्न छन् ।
अल्बानियालाई ईयूको सदस्य बन्न उसले सन् २०३० सम्ममा भ्रष्टाचार अन्त्य गर्न र न्यायपालिकालाई सुदृढ पार्न तत्काल र ठोस कदम चाल्नुपर्नेमा जोड दिइएको छ । आफू सुधारका निम्ति गम्भीर रहेको अन्तर्राष्ट्रियस्तरमा देखाउन प्रधानमन्त्री रामा सरकारले एआईजस्ता नयाँ प्रयोग गरिरहेको जनाइएको छ ।
उनले सन् २०२५ मेमा ऐतिहासिक चौथोपटक जनादेश प्राप्त गरेका थिए । त्सपछि उनले अल्बानियालाई २०३० सम्ममा युरोपेली संघको हिस्सा बनाउने वाचा गरेका थिए । फर्स्टपोस्टबाट ।