काठमाडौं । ब्रह्माण्डको लगभग ८५ प्रतिशत हिस्सा यस्तो पदार्थ मानिन्छ, जसलाई आँखाले देख्न सकिँदैन । वैज्ञानिक उपकरणले पनि पत्ता लगाउन सकिँदैन, जसलाई ‘डार्क म्याटर’ भनिन्छ ।
पहिलोपटक यो रहस्यमय तत्त्वको प्रत्यक्ष अवलोकनको आशा जगाउने संकेत नासाको फर्मी गामा–रे टेलिस्कोपबाट प्राप्त भएको छ ।
मिल्की वे (आकाशगंगा)को केन्द्रबाट रेकर्ड गरिएका २० जेभी ऊर्जा भएका गामा किरणले वैज्ञानिकलाई चकित पारिरहेका छन्, किनकि तिनीहरूले ठ्याक्कै त्यही ढाँचा देखाएका छन्, जसको भविष्यवाणी डार्क म्याटर सिद्धान्तले वर्षौंदेखि गर्दै आएको छ ।
शोधकर्ता फर्मी टेलिस्कोपको डेटामा प्राप्त २० जेभी ऊर्जा भएका गामा किरणजस्तै ढाँचा र चमक उत्पन्न गर्ने कुनै पनि यसअघि थाहा भएका पल्सर, सुपरनोभा अवशेष, ताराका समूहजस्ता खगोलीय स्रोत अहिलेसम्म पहिचान गर्न नसकिएको बताउँछन् ।
यी गामा किरणको विशेष ऊर्जा र ढाँचालाई आजसम्म कुनै पनि ज्ञात तारा, ग्रह, ब्ल्याक होल, पल्सर वा सुपरनोभासँग जोड्न सकिएको छैन । त्यसैले यसलाई डार्क म्याटरसँग जोडिने सम्भावना छ ।
टोकियो युनिभर्सिटीका शोधकर्ताले डेटा विश्लेषणमा पत्ता लगाएअनुसार आकाशगंगाको केन्द्रीय हिस्साका चारैतिर २० जेभी ऊर्जा भएका गामा किरणको चम्किलो पत्र देखिएको छ । यो संकेत उही सैद्धान्तिक मोडलसँग मिल्दोजुल्दो छ ।
२० जेभी संकेतको अर्थ फर्मी टेलिस्कोपले त्यस्ता गामा किरण समातेको छ, जसको ऊर्जा २० गिगा इलेक्ट्रोन भोल्ट हो । यो ऊर्जास्तर त्यही हो, जसको भविष्यवाणी वैज्ञानिकले डार्क म्याटर कणहरू ठोक्किँदा वा नष्ट हुँदा उत्पन्न हुने गामा किरणका निम्ति गरेका थिए ।