काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा ललितपुरमा अर्बौंको क्षति भएको छ । ललितपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार, ललितपुरको सानेपामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय, च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालय र गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आगजनी र तोडफोड भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बाह्रखरीसित भने, “पार्टी कार्यालय सबै जलेर खरानी भएको छ । बाँकी केही छैन ।”
च्यासलस्थित एमालेको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएको प्रहरी प्रमुख अधिकारीले बताए ।
प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गणेश बस्नेतले बाह्रखरीसित भने, “पार्टी कार्यालयबाट अब काम कारबाही सञ्चालन गर्ने अवस्था छैन । सबै जलेर खरानी भएको छ । सिमेन्ट पनि जलेको अवस्था छ । हामीले सरसफाइ गर्न खोज्यौँ तर कामै नलाग्ने जस्तो देखिएको छ ।”
यस्तै, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र पनि आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त भएको छ । केन्द्रका व्यवस्थापक सुमन फुयाँलले भने, “केन्द्रको सबै लाइट आन्दोलनकारीले निकालेर लगेका छन् । स्टोरमा राखिएको कतिपय सामान चोरेर लगे भने कतिपय सामान जल्यो । पूरै क्षतिग्रस्त भएको छ । अब बाँकी पिल्लरहरू मात्र ठडिएका छन् ।”
ललितपुर प्रहरी प्रमुख अधिकारीका अनुसार, १० वटा प्रहरी विटमा आगजनी भएको छ । आगजनीका कारण प्रहरी विटहरू क्षतिग्रस्त भएको उनले बताए ।
कुपण्डोलस्थित नाइटिङगेल कलेजको भौतिक संरचनामा पनि तोडफोड भएको छ । कलेजका संस्थापक अध्यक्ष तेजुलाल चौधरीका अनुसार, प्लस टुको भवन पूर्ण रूपमा तोडफोड भएको छ ।
उनले भने, “प्लस टुको एउटा गाडी पूर्ण रूपमा जलेको छ अन्य चारवटामा तोडफोड भएको छ । भौतिक संरचनाबाहेक ल्याब, एकाउन्ट सबैमा क्षति पुगेको छ । तत्काल यसै बिल्डिङबाट काम सञ्चालन गर्ने अवस्था छैन । केही दिन लाग्छ । स्थानीयले यो भवन बचाएका हुन् ।”
ललितपुरमा जेनजीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण विवरण भने अझै आइनसकेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।