site stats
बाह्रखरी :: Baahrakhari
देश
टेन्ट टाँगेर सेवा दिँदै भैरहवा भन्सार

बुटवल । भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको भैरहवा भन्सार कार्यालय सिद्धार्थनगर, रुपन्देहीले कार्यालय परिसरमा टेन्ट टाँगेर सेवा सुरु गरेको छ ।

शनिबार (भदौ २७) देखि कार्यालय परिसरमा टेन्ट टाँगेर सेवाग्राहीलाई सेवा प्रदान गर्न सुरु गरिएको भन्सार अधिकृत तथा कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले बताए ।

भदौ २४ गते आएको प्रदर्शनकारीले तोडफोड तथा आगजनी गर्दा कार्यालयको दुईतले प्रमुख प्रशासकीय भवनमा पूर्ण रूपमा क्षति पुगेको प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए ।

उनले भने, “प्रमुख प्रशासकीय भवनमा रहेको फर्निचर, कम्प्युटर, कागजात पनि जलेर नष्ट भएको छ, यात्रु शाखा पूर्ण रूपमा जलेको छ । कार्यालयमा रहेको बैंकको शाखामा पनि क्षति पुगेको छ ।”

प्राथमिकता निर्धारण गरी वस्तुहरूको जाँचपास सुरु गरिएको न्यौपानेले बताए । शुक्रबार २८२ वटा गाडी जाँचपास गरिएको उनले जानकारी दिए । कर्मचारीहरूले कार्यालय परिसरमा टेन्टमुनी बसेर ल्यापटपमार्फत सेवा प्रदान गरिरहेको नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधुप्रसाद पन्थीले बताए । उनले भने, “उद्योगी–व्यवसायी सेवाग्राहीलाई कार्यालय परिसरमा सेवा प्रदान गर्ने प्रयास गरेकोमा भैरहवा भन्सार कार्यालयप्रति आभार व्यक्त गर्दछौँ ।”

प्रमुख भन्सार अधिकृत न्यौपानेका अनुसार, आर्थिक वर्ष २०८२/०८३ मा भैरहवा भन्सार कार्यालयले एक खर्ब १३ अर्ब राजस्व संकलनको लक्ष्य पाएको छ । स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नेपालको प्रमुख भन्सार नाका हो ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्