site stats
बाह्रखरी :: Baahrakhari
खेल
दसैँअघि त्रिवि रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्यमा धक्का, भन्सारमा अड्कियो सामान

काठमाडौं । मुलुकभर ‘जेनजी’को आन्दोलनका कारण अघिल्लो साता नेपाली अर्थतन्त्र, निर्माण क्षेत्र अस्तव्यस्त बन्यो । प्रदर्शनका क्रममा संसद् भवन, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार, सर्वाेच्च अदालतलगायत सरकारी तथा निजी सम्पत्ति खरानी भए । कर्पाेरेट हाउसहरू जले ।

निमार्णाधीन योजनाको कार्य रोकियो । आन्दोलनको प्रभावले परियोजना सञ्चालन हुन नसक्ने अवस्थामा पुगे । कीर्तिपुरमा निर्माणाधीन त्रिवि क्रिकेट मैदान पनि जेनजी प्रदर्शनले प्रभावित योजनामध्येको एक हो । आन्दोलनका कारण मैदानको निर्माण कार्य ठप्पजस्तै भयो ।

निर्माण कम्पनीले आन्दोलनका मैदानमा प्रभावकारी रूपमा कार्य हुन नसकेको जनाएको छ । दुईचार दिन त निर्माण कार्यमा ढिलाई भयो नै । आइतबारदेखि निर्माण कार्य प्रभावकारी रूपमा सुचारु गरेका छौँ । आन्तरिक रूपमा हुनुपर्ने कार्यहरू सबै भइरहेकै थियो,” प्रोजेक्ट म्यानेजर चक्रवर्ती कण्ठले बाह्रखरीसँग भने, “बाहिरबाट ल्याउने र आउनुपर्ने सामानहरू रोकियो । साइटमै आइसकेका सामानहरू निर्माण कार्यमा प्रयोग भइरहेका छन् । तर, प्रभावकारी रूपमा काम हुन सकिरहेको छैन ।”

नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो मंसिरमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग सुरु गर्ने घोषणा गरेको छ । यसैकारण मंसिरअघि फ्लडलाइटसहित मैदानको पहिलो चरण पूरा गर्नुपर्ने दबाब निर्माण कम्पनीमाथि छ ।

तर, आन्दोलनबाट देशभरिको यातायात तथा सरकारी सेवामा समस्या उत्पन्न भएपछि यति बेला रंगशालाको पूर्णता अन्योलमा परेको छ । मैदानलाई आवश्यक पर्ने सामग्री समेत समयमै आइपुग्ने/नपुग्ने अनिश्चित छ ।

tu-maidan4-1757923138.jpg
भन्सारमै अड्कियो हेडफ्रेम र लाइट
हाल मैदानमा फ्लडलाइटका पोलहरू जडान भइरहेका छन् । ठेकेदार कम्पनीे विसान ईश्वरी जेभीका अनुसार, मैदानमा ६ फ्लडलाइट जडान गरिनेछ । फ्लडलाइटका प्रोजेक्ट म्यानेजर सौरभ साहले प्रत्येक फ्लडलाइटमा ७० लाइट जडान हुने जानकारी दिए ।

फ्लडलाइटका निम्ति भारतबाट वीरगन्ज नाका हुँदै सामान मैदानसम्म ल्याइने हो । आन्दोलनका कारण हाल यो नाका बन्द छ । वीरगन्ज भन्सार कार्यालयमा फ्लडलाइटको हेडफ्रेम र लाइट अड्किएको साहले बताए ।

“आन्दोलनले गर्दा भन्सार बन्द भएसँगै फ्लडलाइटका सामान त्यहीँ अड्कियो । एक दिन मात्र ढिला बन्द भएको भए सामान यता आइपुग्थ्यो । तर, आन्दोलनले गर्दा  भारतीय नाकाबाट नेपाल आउँदा आउँदै रोकियो । हाल दोस्रो लटको लाइट र हेडफ्रेम नाकामा अड्किएको छ । ठ्याक्कै कहिले सामान आइपुग्ने, कहिले सकिने भन्ने अन्योलमा छ,” साहले भने ।

योसँगै निर्माण कार्यको गति प्रभावित भएको जनाइएको छ । ठेकेदार कम्पनीले आसन्न दसैँअघि निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको भनिएको थियो । तर, अब उक्त लक्ष्य पूरा हुन नसक्ने साह बताउँछन् ।

“आन्दोलनले गर्दा हप्ता दिनजति हाम्रो सम्पूर्ण कामहरू हुन सकेन । आन्दोलनले गर्दा हाम्रो दसैँअघिसम्म फ्लडलाइट ठड्याउने योजना स्थगित भएको छ । निमार्णसँग सम्बन्धित कार्यालयहरूमा पनि क्षति पुगेकोले समन्वय नै हुन सकेको छैन,” उनले भने, “कार्यालयहरूसँगको सम्पर्क नै टुटेको छ । अब कसरी अघि बढ्ने भनेर मन्त्रालयका इन्जिनियरहरूसँग छलफल गरेपछि मात्र थाहा हुन्छ । प्रारम्भिक रूपमा अब दसैँअघि पोल मात्रै ठड्याउने योजना बनाएका छौँ ।”

सहरी विकास मन्त्रालयले गएको असार ३२ गते समयमै निर्माण सम्पन्न नगरेको भन्दै कम्पनीलाई दैनिक दुई लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । सोहीअनुसार हाल ठेकेदार कम्पनीले दैनिक मन्त्रालयलाई दुई लाख रुपैयाँ जरिवाना तिरिरहेको छ ।

dasmg-1757923169.jpg
प्यारापिटको निर्माण पूरा
फल्डलाइटको निर्माण कार्य प्रभावित भए पनि ठेकेदार कम्पनीले प्यारापिटतर्फको काम पूरा भएको जनाएको छ । तीन निर्माण कम्पनी (बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्स)ले संयुक्त रूपमा निर्माणको ठेक्का पाएका थिए । पूर्वीय र पश्चिम गरी तीन ब्लकमा विभाजित प्यारापिटमा १० हजार सिट जडान भइसकेको छ । प्यारापिट प्रोजेक्ट म्यानेजर सुरेन्द्र कर्णले भदौको मध्यसम्ममा नै प्यारापिट निर्माण पूरा भएको बताए ।

“हामीले प्यारापिटको काम दुई हप्ताअघि सम्पन्न गरेका थियौँ । क्रिकेट मैदानमा जोड्नुपर्नेजति सबै सिट जडान गरिसक्यौँ । प्यारापिटको काम शतप्रतिशत सम्पन्न भइसक्यो,” कर्णले भने ।

गत वर्ष असार ३१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकबाट यो मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने निर्णय गरिएको थियो । त्यसको सात महिनापछि मैदानमा फ्लडलाइट र प्यारापिटको काम थालिएको थियो । प्यारापिटका निम्ति ठेकेदार कम्पनी र मन्त्रालयबीच ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का लागेको थियो ।

फ्लडलाइट निर्माणको जिम्मा विसान ईश्वरी जेभीले पाएको छ । फ्लडलाइट निर्माणका निम्ति फागुन २२ गते मन्त्रालयले विसान ईश्वरीसँग सम्झौता गरेको थियो । फ्लडलाइटको ठेक्का रकम ४२ करोड १८ लाख हो ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्