site stats
बाह्रखरी :: Baahrakhari
देश
२८ मृतकको पोष्टमार्टम सकियो, जलेका सात शवको पहिचान बाँकी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २८ जनाको पोष्टमार्टम सकिएको छ । त्रवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जका फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, अस्पतालमा रहेका  ४६ शवमध्ये २८ को पोष्टमार्टम सकिएको हो ।

“हामीलाई प्राप्त भएको ४६ शवमध्ये २८ को पोष्टमार्टम सकिएको छ । सातजनाको शव जलेको अवस्थामा छ । यी शवहरूको पहिचान हुन बाँकी छ,” उनले बाह्रखरीसँग भने, “पोष्टमार्टम गर्दै परिवारलाई बुझाउने काम भइरहेको छ । जलेको कार्यालयबाटै पत्र आएपछि पहिचान गर्न पनि सजिलो हुन्छ ।” 

प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव विभिन्न अस्पतालबाट पोष्टमार्टमका लागि टिचिङमा पुर्‍याइउने क्रम जारी छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, अहिलेसम्म देशभर गरी ७२ जनाको निधन भएको छ ।

देशभर तोडफोड, लुटपाट र आगजनीको क्षतिको विवरण संकलन गर्ने काम सुरु गरिएको उनले जानकारी दिए ।  “अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । क्षतिको विवरण पनि संकलन गर्न सुरु गरेका छौँ,” उनले भने ।

भदौ २३ र २४ गतेको हिंसात्मक आन्दोलनका कारण देशभर मानवीयसँगै ठूलो परिमाणमा जनधनको क्षति भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्