काठमाडौं । जेनेरेसन जेड (जेनजी) आन्दोलनसँगै उत्पन्न सन्त्रासपूर्ण माहौल आइतबारदेखि स्वभाविक लयमा फर्किने प्रयास गर्दै छ ।
देशैभर भएका प्रदर्शनबाट खेलकुद क्षेत्र अछुतो रहने कुरै भएन । यही प्रदर्शनका कारण नेपालमा हुँदै गरेका र केही सातामै सुरु हुने तय भएका अधिकांश खेलकुदका कार्यक्रम स्थगित भएका छन् ।
गत भदौ २३ गते आन्दोलन हिंसात्मक भएकै दिन घोषित प्रतियोगिता स्थगित हुन सुरु भएको थियो । जसमा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय महिला लिग छनोट, एन्फा यू–१६ युथ लिग र बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल छन् ।
यसैगरी भलिबलतर्फ पनि महत्वपूर्ण दुई प्रतियोगिता स्थगित भए । जसमा एभरेष्ट महिला भलिबल लिग, काभा बंगलादेशसँगको खेल स्थगित भइसकेका छन् ।
यसैगरी नेपालगञ्जमा आयोजना हुने नेपालगञ्ज १० नाइट रन र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजना हुने नेपालकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स पनि स्थगित भयो ।
राष्ट्रिय महिला लिग छनोट
एन्फाको आयोजना भएको राष्ट्रिय महिला लिग छनोटको अन्तिम खेल आन्दोलनका कारण सम्भव बन्न सकेन । साउन २९ गतेदेखि सुरु भएको प्रतियोगितामा भदौ २३ गते क्वालिफायर खेलमा राप्ती फुटबल क्लब र झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्ने तालिका थियो ।
तर, त्यही दिन प्रदर्शन उग्र बन्दा यो खेलले सम्भव बन्न सकेन । यसैकारण छनोटबाट कुल पाँच टिमले महिला लिग खेल्ने भए पनि हालसम्म चार वटामात्रै टिमको टुंगो लागेको छ ।
छनोटबाट महिला लिग उक्लिनेमा चर्च ब्वाइज युनाइटेड, आरएस रिसोर्ट एन्ड बिच फुटबल, संकटा एफसी र एनआरटी छन् ।
एन्फा यू–१६ युथ लिग
एन्फाकै आयोजनामा भइरहेको एन्फा यू–१६ युथ लिगले पनि प्रदर्शनकै कारण निरन्तरता पाउन सकेन । असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कुल १८२ खेल हुने तय थियो । तर, प्रदर्शनका कारण भदौ २४ गते एन्फाले सामाजिक सञ्जालमार्फत प्रतियोगिता नयाँ मिति सार्वजनिक नहुँदासम्म स्थगित गरिएको जनाएको थियो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने १४ वटा क्लबका युवा टोलीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा हालसम्म १३८ वटा खेलले नतिजा पाइसकेको छ ।
नेपाल–बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल
फिफा विन्डोअन्तर्गत नेपालमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका निम्ति बंगलादेशको राष्ट्रिय टिम भदौ २० गते नेपाल आएको थियो ।
बंगलादेशले नेपालसँग दशरथ रंगशालामा भदौ २१ र २४ गरी कुल दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय थियो । तर, जेनजी प्रदर्शनका कारण यी दुई टिमबीचको पूर्वनिर्धारित दोस्रो खेलले नतिजा पाउन सकेन ।
भदौ २१ गतेको पहिलो खेल गोलरहित बराबरीमा समाप्त भए पनि २४ गते तय भएको दोस्रो खेल प्रदर्शनका कारण सम्भव बन्न सकेन । यही कारण बंगलादेशी टिम भदौ २६ गते स्वदेश फर्किसकेको छ ।
नेपालमा भएका प्रदर्शनका कारण विमानस्थल बन्द हुँदा बंगलादेशी टिम दुई दिनसम्म नेपालमा अड्किएको थियो । तर, बंगलादेशी सरकारले नेपालको प्रदर्शनका कारण फसेका आफ्ना नागरिकलाई उद्दार गर्न सैन्य विमान पठाएपछि सोही विमानमा बंगलादेशी टिम स्वदेश फर्किएको थियो ।
एन्फाले प्रदर्शनका कारण यी दुई टिमबीचको दोस्रो खेल स्थगित भएको जनाएको थियो । तर, एन्फाका प्रवक्ता सुरेश शाह भने नेपाल र बंगलादेशबीचको दोस्रो खेल रद्द भएको बताउँछन् ।
“हामीले २४ गतेको भोलिपल्ट खेल सञ्चालन गर्न सकिन्छ कि भनेर विज्ञप्तिमा स्थगित भनेका थियौँ । तर, भोलिपल्ट पनि सम्भव बन्न सकेन । फिफाको सेप्टेम्बर विन्डो नै समाप्त भइसकेको छ । यसैकारण उक्त विन्डोमा सम्भव नभएको खेललाई स्थगित भन्न मिल्दैन । विन्डो समाप्त भएसँगै यी दुई टिमबीचको दोस्रो खेल रद्द भइसक्यो,” प्रवक्ता शाहले बाह्रखरीसँग भने ।
उनले प्रदर्शनका कारण स्थगित भएका प्रतियोगिता दशैँअघि सम्भव नभएको समेत जनाए ।
प्रवक्ता शाह थप्छन्, “प्रदर्शनकै कारण राष्ट्रिय महिला लिग छनोट रोकियो । यू–१६ युथ लिग पनि रोकियो । ए डिभिजन लिगका क्लबहरूसँगको छलफल, रेफ्री सेमिनारसँगै अन्य एन्फाका धेरै कार्यक्रम स्थगित भएका छन् । यी सबै प्रतियोगिता तथा कार्यक्रमहरू दशैँअघि सञ्चालनमा ल्याउन निक्कै कठिन छ ।”
भलिबलका दुई प्रतियोगिता स्थगित
प्रदर्शनका कारण नेपाल भलिबल संघ (एनभीए) अन्र्तगतका दुई प्रतियोगिताहरू स्थगित भएका छन् । जसमा काभा महिला नेसन्सलिग र फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट महिला भलिबल लिग छन् । काभाको प्रतियोगिता नोभेम्बर १५ देखि २२ सम्म नेपालमा आयोजना हुने तालिका थियो ।
एनभीएका महासचिव रोशन श्रेष्ठले दुवै प्रतियोगिता स्थगित भएको र माहोल सहज बने चाँडै दुवै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिने बताए ।
“मध्य एसियाली भलिबल एसोसियसन (काभा) ले नेपालको वर्तमान स्थितिलाई देखाउँदै काभा महिला नेसन्स लिग तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ । हाम्रो देशको स्थिती अहसज हुँदा अन्य देशहरूले सहभागितामा आनाकानी गरे । यो प्रतियोगिता दशैँअघि आयोजना गर्न गाह्रै देखिन्छ,” संघका महासचिव रोशन श्रेष्ठले बाह्रखरीसँग भने ।
उनको भनाइमा, “महिला फ्रेन्चाइज लिग पनि यही विषम परिस्थितिका कारण स्थगित भएको छ । प्रतियोगिता खेल्न आएका विदेशी खेलाडीहरू फर्किसकेका छन् । यसबारे पनि अबको केही दिन पर्खिएर माहोल हेरेपछि मात्रै के गर्ने भन्ने निर्णय हुनेछ ।”
पल्सर स्पोर्ट्स अवार्ड पनि स्थगित
एनएसजेएफको आयोजनामा पछिल्लो २१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करण पनि स्थगित भएको छ । एनएसजेएफको तालिकाअनुसार अवार्ड भदौ २९ गते पोखरामा हुने तय भएको थियो ।
तर, अवार्ड आयोजना हुने तय भएको स्थान पोखरा इभेन्ट सेन्टरमा आगजनी हुनु र परिस्थिति असुरक्षित बन्दा एनएसजेएफले अवार्ड स्थगित गर्ने निर्णय गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी जेनजी प्रदर्शनका कारण सम्पूर्ण सहयोगी संस्था प्रभावित बन्दा अवार्ड स्थगित गर्नुपरेको बताउँछन् ।
“प्रदर्शनका कारण अवार्डका सबै स्टेकहोल्डर प्रभावित बनेका छन् । यसैकारण तत्कालै अवार्ड आयोजना गर्न सम्भव छैन । यसपटक पोखरामा अवार्ड गर्ने भनेका थियौँ, तर पोखराले प्रदर्शनका कारण ठूलो भौतिक क्षति बेहोरेको छ । यसैकारण कम्तीमा तिहारअघि अवार्ड हुने सम्भावना निक्कै झिनो छ ।”
नेपालगञ्ज १० नाइट रन
प्रदर्शनले देशैभरिको स्थिति असामान्य बनाउँदा नेपालगञ्जमा आयोजना हुने नेपालगञ्ज १० नाइट रन पनि स्थगित गरिएको छ ।
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को पूर्णकालीन सदस्यता लिएपछि आधिकारिक रूपमा आयोजना हुन लागेको नाइट रनको दोस्रो संस्करण जेनजी प्रदर्शनको मारमा परेको हो ।
एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरीले मुलुक शोकमग्न हुँदा तत्कालै दौड आयोजना गर्न नहुने निष्कर्षमा पुगेको बताए ।
“शुभेच्छुकहरूबाट हामीले दौड तोकिएकै मितिमा गर्नुपर्ने र स्थगित गर्नुपर्ने बराबरी सुझाव पाएका थियौँ,” एम्सका नेपाल प्रतिनिधि तथा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, “तर, युवाहरूको ऐतिहासिक आन्दोलन तथा बलिदान र लगत्तै भड्किएको हिंसाले भौतिक तथा मानवीय क्षतिले मुलुक शोकमग्न रहेको बेला तत्कालै दौड आयोजना गर्न उपयुक्त नहुने निष्कर्षमा हामी पुगेका छौँ ।”
