site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसिया कप : श्रीलंकाको लगातार दोस्रो जित

काठमाडौं । एसीसी एसिया कपमा लगातार दोस्रो जित निकाल्ने क्रममा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ । 

सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको १५० रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।  

श्रीलंकाको जितमा पथुम निसांकाले सर्वाधिक ६८ रन बनाए । उनले ४४ बलमा चार चौका र दुई छक्का प्रहार गरे । कुशल परेराले २० र वनिन्दु हसरंगाले समान २० रन थपे । कामिल मिसाराले १९ र कुशल मेन्डिसले ११ रन बनाए । 

हङकङका यासिम मुर्तजाले दुई विकेट लिए । आयुश शुक्ला, एसाना खान र आइजाज खानले समान एक विकेट लिए । 

त्यसअघि, टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४९ रनको सम्मानजनक योगफल खडा गरेको थियो । 

हङकङका निजाकत खानले ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्सु रथले ४८ रन थप्दा जिसान अलीले २३ रन जोडे । 

श्रीलंकाका दुस्मन्था चमिराले दुई विकेट लिए । वनिन्दु हसरंगा र दुसान सनाकारले समान एक विकेट लिए । 

लगातार दोस्रो जितसँगै चार अंक जोडेको श्रीलंकाले समूह ‘बी’बाट सेमिफाइनल सम्भावना बलियो बनाएको छ । तीन खेल खेल्दा पनि अंकविहीन हङकङ भने पुछारमा छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्