पोखरा । जेनजी प्रदर्शनको समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे युएईमा थिए । एक कार्यक्रमको सिलसिलामा मुख्यमन्त्री पाण्डे देशबाहिर रहेको बेलामा देशमा जेनजी आन्दोलन भयो । त्यही आन्दोलनले ध्वंसात्मक रुप लिँदा गण्डकीका सरकारी कार्यालय पनि निसानामा परे ।
भदौ २३ र २४ को उक्त आन्दोलनले गण्डकीको मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालय, प्रदेशसभा लगायतका मुख्य संरचना खरानी बन्न पुगे । अहिले सरकारले क्षतिको विवरण संकलन गरिरहेको छ । कास्कीमा मात्रै ७२ वटा सरकारी कार्यालय ध्वस्त बनेका छन् ।
तिनै ध्वस्त संरचनाको मंगलबार मुख्यमन्त्री पाण्डेले अवलोकन गरेका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निरीक्षणपछि उनी गण्डकी प्रदेशसभा पुगेका थिए ।
प्रदर्शनकारीले प्रयोगमा आउने खालका सामग्रीदेखि फूलको गमला, फाइलहरू चोरी गरेका थिए । तिनै चोरिएका सामान फिर्ता गर्न सचिवालयले सूचना जारी गरेको हो ।
सूचनामा प्रदेशसभा सचिवालयका दुई तथा चारपांग्रे सवारी, कम्प्युटर, प्रिन्टर, ल्यापटक, भिडियो क्यामेरा, क्यामेरा, टीभी, स्मार्टबोर्ड, कुर्सी टेबुल, दराज, सोफा लगायतका सामग्रीहरू चोरी भएको उल्लेख गरिएको छ ।
सचिवालयले सभामुख र उपसभामुख निवास नागढुंगाबाट समेत लुटपाट र चोरी भएको जनाएको छ । त्यसमा संलग्नको पहिचान कार्य चलेको र कसैले थाहा पाए सचिवालय र प्रहरीमा बुझाइदिन अनुरोध गरिएको छ । सचिवालयले सामान फिर्ता गर्नको लागि अधिकृत झनकराज शर्मासँग सम्पर्क गर्न भनेको छ ।
आन्दोलनकारीले त्यहाँ रहेका भवनसँगै अन्य संरचना, दुईपांग्रे र चारपांग्रे सवारीसाधन, कम्प्युटर, ल्यापटक, प्रिन्टर, भिडियो क्यामेरा, क्यामेरा, टेलिभिजन, स्मार्टबोर्ड, कुर्सी, टेबुल, दराज, सोफा लगायतका सामग्री तोडफोड र आगजनी गरेका थिए ।
प्रदेशसभा भवनपछि मुख्यमन्त्री पाण्डेले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्कीसँगै अन्य सरकारी संरचनाको निरीक्षण गरेका थिए ।