site stats
बाह्रखरी :: Baahrakhari
देश
जेन्जी आन्दोलनमा लुम्बिनी प्रदेश सरकारका संरचना ठूलो मात्रामा प्रभावित

बुटवल । देशभर भदौ २३ र २४ गते भएको जेनजी  आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार तथा मातहतका निकायमा ठूलो क्षति पुगेको छ । प्रदेश सरकारका निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले लुम्बिनी प्रदेश सरकारका संरचना ठूलो मात्रामा प्रभावित भएको बाह्रखरीलाई जानकारी दिए । 

उनका अनुसार, प्रदेश प्रमुखको कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत वुटवलस्थित सम्पर्क कार्यालयमा क्षति पुगेको छ । ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवाससमेत पूर्णरूपमा क्षतिग्रस्त भएको छ । सो क्रममा प्रयोगमा रहेका तीनवटा गाडी पनि नष्ट भएको जनाइएको छ ।

कहाँ कति क्षति भयो ? 
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङको सडक पूर्वाधार कार्यालयमा सातवटा मोटरसाइकल र एउटा गाडी पूर्णरूपमा क्षति भएको छ । आर्घाखाँचीस्थित कार्यालयमा सामान्य तोडफोड भएको छ । सहरी विकास तथा खानेपानी मन्त्रालयअन्तर्गत रुपन्देहीको सहरी विकास तथा भवन कार्यालयमा एक मोटरसाइकल क्षति पुगेको छ । लमहीस्थित भौतिक पूर्वाधार मन्त्रीको क्वाटरका सामान जलाइदिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत बुटवलस्थित प्रदेश लेखा नियन्त्रक कार्यालयको भवनमा तोडफोड हुनुका साथै गाडीमा समेत क्षति पुगेको छ । करिब ९६ लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको जनाइएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा सबैभन्दा बढी क्षति भएको देखिएको छ । रुपन्देही, बाँके र दाङस्थित यातायात व्यवस्था कार्यालयका सवारीसाधन पूर्णरूपमा नष्ट भएका छन् । रुपन्देहीस्थित चालक अनुमतिपत्र कार्यालय, भैरहवास्थित उद्योग तथा उपभोक्ता हित निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय, भैरहवास्थित पर्यटन डिभिजनको गाडी र बाँके जमुनाहस्थित पर्यटन सूचना केन्द्र पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत लमहीस्थित मन्त्री निवासमा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत दाङमा आठवटा मोटरसाइकल जलेको विवरणमा उल्लेख छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन निर्देशनालय पूर्ण रूपमा क्षति भएको छ ।

प्रदेश लोक सेवा आयोगमा आगजनी र तोडफोड हुँदा भवन र स्टोर पूर्णरूपमा नष्ट भएको छ । २०७८/०८१ सम्मका कर्मचारी तथा जनप्रतिनिधिहरूको सम्पत्ति विवरणसमेत पूर्णरूपमा नष्ट भएको छ । ६ वटा सवारीसाधन पनि पूर्णरूपमा नष्ट भएका छन् ।

सचिव सुवेदीले थप विवरण संकलन भइरहेको र विस्तृत विवरणपछि सार्वजनिक गरिने जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्