site stats
बाह्रखरी :: Baahrakhari
देश
जेनजी प्रदर्शनमा क्षति भएका सवारी साधन, उपकरण र फर्निचर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा थुपारिने

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सवारी साधन, उपकरण र फर्निचर  बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा थुपार्ने भएको छ ।
 
मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलबार बसेको सचिवस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।
 
“२०८२ भदौ २४ गते सिंहदरवार परिसरमा भएको आगजनी र तोडफोडको क्रममा आगोले जलेर पूर्णरूपमा क्षति भएर प्रयोगमा आउन नसक्ने प्रकृतिका सवारी साधन र जलेर वा तोडफोडवाट ध्वस्त भएका विभिन्न यन्त्र, उपकरण तथा फर्निचरलाई तत्कालका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरको पछाडिको भागमा थुपारिनेछ,” बैठकको निर्णयमा भनिएको छ । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाटै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रकृयाबमोजिम तत्काल लिलामी/नष्ट गर्ने प्रकृया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
 
बैठकको निर्णयमा भनिएको छ, “ध्वस्त भएका सवारी साधन, उपकरण र फर्निचरलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले सिंहदरवार परिसरबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वर लैजाने व्यवस्था मिलाउनेछ ।”
 
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले सर्वोच्च अदालत, सिंहदरबार र त्यहाँभित्र रहेका विभिन्न मन्त्रालय तथा संसद् भवनलगायत निजी र व्यापारिक भवनमा आगजनी गरेका थिए । प्रदर्शनकारीले ती स्थानमा रहेका सयौँ सवारी साधनमा पनि आगजनी गरेका थिए ।

गृह मन्त्रालयको प्रारम्भिक विवरणअनुसार प्रदर्शनमा देशभरका २६३ वटा सरकारी कार्यालय प्रदर्शनकारीको आक्रमणमा परी पूर्ण ध्वस्त भएका छन् । यस्तै, ३४२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । 

प्रदर्शनकारीको आक्रमणबाट देशभरका ८२ वटा प्रहरी कार्यालय पूर्ण क्षति र १२४ वटामा आंशिक क्षति पुर्‍याएको पाइएको छ ।

जेनजीले भदौ २३ गते काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गरेका थिए । सुशासन, बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनु पर्ने र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका थिए । 

भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले गरेको दमनमा देशभर १९ जनाको मृत्यु भएपछि भदौ २४ गतेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
 
प्रदर्शनकारीले भदौ २४ गते सिंहदबार र त्यहाँ रहेका अन्य मन्त्रालयहरू, सर्वोच्च अदालत, संसद् भवनलगायत सरकारी तथा निजी भवनहरूमा तोडफोड र आगजनी गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्