काठमाडौं । स्पेनिस राष्ट्रिय फुटबल टिम फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार स्पेन एक स्थान सुधार गर्दै शीर्षमा उक्लिएको हो ।
अर्जेन्टिना भने दुई स्थान घटुवामा पर्दै तेस्रोमा झरेको छ । कतारमा आयोजित विश्वकप च्याम्पियन समेत रहेको अर्जेन्टिना करिब अढाई वर्षपछि शीर्ष स्थानबाट घटुवामा परेको हो । अर्जेन्टिना सन् २०२३ को अप्रिलयता शीर्ष स्थानमा आसीन थियो ।
वरीयताको दोस्रो स्थानमा फ्रान्स उक्लिएको छ । चौथो स्थानमा इंग्ल्यान्ड यथावत् छ । पाँचौँ स्थानमा पोर्चुगल उक्लिएको छ ।
ब्राजिल छैटौँ स्थानमा घटुवा भएको छ । नेदरल्यान्ड्स सातौँ, बेल्जियम आठौँ, क्रोएसिया नवौँ र इटाली १०औँ स्थानमा छन् ।