काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ । काठमाडौंको टंगाल र सुर्खेतस्थित अख्तियारको कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट बिहीबार (असोज २) उनलाई नियन्त्रणमा लिएको हो ।
कार्कीले डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीपछि अख्तियारको टोलीले उनीमाथि निगरानी बढाएको थियो । त्यसक्रममा कार्कीलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
कार्कीमाथि थप अनुसन्धान भइरहेको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।