site stats
बाह्रखरी :: Baahrakhari
देश
जेनजी प्रदर्शनको तोडफोड र आगजनीमा परराष्ट्र मन्त्रालयमा १४ करोडको क्षति
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भदौ २४ गतेको जेनजी प्रदर्शन हिंसात्मक बन्दा परराष्ट्र मन्त्रालयमा मात्र १४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रदर्शनकारीले परराष्ट्र मन्त्रालयमा तोडफोड र आगजनी गर्दा उक्त क्षति भएको हो ।
 
“प्रदर्शनकारीबाट भएको तोडफोड र आगजनीका कारण परराष्ट्र मन्त्रालयमा १४ करोड रुपैयाँ बराबरको क्षति भएको विवरण प्राप्त भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो ।

प्रदर्शनकारीले भदौ २४ गते पहिलेको सामान्य प्रशासन मन्त्रालय रहेको भवनमा रहेका परराष्ट्रका ६ वटा महाशाखा र गाडीमा आगजनी गरेका थिए । 

अर्थ मन्त्रालय आडमा रहेको परराष्ट्र मन्त्रालयको मुल भवनमा पनि प्रदर्शनकारीले तोडफोड गरेका थिए । यो भवन बाहिर रहेका परराष्ट्रका गाडीमा आगजनी र तोडफोड गरिएको थियो । मुल भवनमा भने आगजनी भएको थिएन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले क्षतिको विवरण संकलन गर्ने काम अझै चलिरहेको बताए । 

“क्षतिको विवरण संकलन गरिरहेका छौँ । परराष्ट्रका ६ वटा महाशाखामा आगजनी भएको छ । ६ वटा गाडी आगलागीका कारण पूर्णध्वस्त भएका छन् । १५ वटा गाडीमा तोडफोड भएको छ,” प्रवक्ता क्षेत्रीले भने । परराष्ट्रका १० वटा सुरक्षित रहेको उनले जनाए । 

जेनजीले गत भदौ २३ गते देशभर प्रदर्शन गरेका थिए । उक्त दिन प्रहरीले चलाएको गोली लागि १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि भोलिपल्ट भदौ २४ गतेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
 
उत्तेजित प्रदर्शनकारीले सिंहदरबार प्रवेश गरी त्यहाँ रहेका मन्त्रालयहरूमा तोडफोड र आगजनी गरेका थिए । यसैक्रममा परराष्ट्र मन्त्रालयमा पनि तोडफोड र आगजनी भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्