site stats
बाह्रखरी :: Baahrakhari
देश
तोडफोड र आगजनीबाट लुम्बिनीका २४५ भवनमा क्षति
फाइल तस्बिर ।

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका सात जिल्लामा आगजनी तथा तोडफोड भएको तथ्यांक सार्वजनिक भएको छ ।  सबैभन्दा बढी क्षति दाङ जिल्लामा भएको छ, जहाँ करिब ७० वटा संरचनामा तोडफोड गरिएको छ ।

त्यसपछि रुपन्देहीमा ५९, नवलपरासी (पश्चिम)मा ४६, बाँकेमा ३२, कपिलवस्तुमा १८, अर्घाखाँचीमा १३, बर्दियामा चार र गुल्मीमा तीनवटा संरचनामा क्षति पुगेको छ । प्रदेशका आठ जिल्लामा गरेर २४५ भन्दा बढी सरकारी, निजी र सार्वजनिक संरचनामा तोडफोड भएको पुष्टि भएको छ ।

क्षतिग्रस्त संरचनामध्ये सरकारी कार्यालय, स्थानीय तहका भवन, राजनीतिक दलका पार्टी कार्यालय, उद्योग वाणिज्य संघ, बैंक तथा निजी संघसंस्था, व्यावसायिक प्रतिष्ठान र नेताकार्यकर्ताका निजी घरहरू रहेका छन् । १३१ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रदेश सरकारका प्रारम्भिक विवरणमा उल्लेख छ । 

प्रदेशभरका जिल्लामध्ये सबैभन्दा बढी क्षति दाङमा भएको छ । दाङमा मात्रै ४१ वटा सरकारी कार्यालयमा आगलागी र तोडफोड भएको जनाइएको छ । त्यसपछि रुपन्देहीमा ३४, बाँकेमा २३, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा २१, कपिलवस्तुमा ६, अर्घाखाँचीमा पाँच र बर्दियामा एउटा कार्यालयमा क्षति भएको तथ्यांक छ ।

सरकारी संरचना व्यापक तोडफोड
लुम्बिनीका विभिन्न जिल्लामा आन्दोलनका क्रममा सरकारी संरचनालक्षित व्यापक तोडफोड र आगजनी गरिएको छ । आन्दोलनका क्रममा स्थानीय तहका कार्यालयदेखि जिल्ला अदालत, सरकारी वकिल, कर तथा नापी कार्यालय, भन्सार, विद्युत्, राजस्व, प्रशासन, वन, विमानस्थल कार्यालय लगायतका दर्जनौँ कार्यालय तथा संरचना क्षतिग्रस्त भएका छन् ।

दाङमा तुलसीपुर र घोराही उपमहानगरपालिकाका कार्यालय र वडा कार्यालयसहित जिल्ला तथा उच्च अदालतसहितका ३० भन्दा बढी सरकारी कार्यालय तोडफोड गरिएको छ । अन्य जिल्लाका सरकारी संरचना पनि ध्वस्त भएको छ । 

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण लुम्बिनीका आठवटै जिल्लामा सरकारी सेवा–सुविधा प्रभावित बनेको छ । प्रभावित संरचनाको पुनर्निर्माण र सेवा प्रवाह सामान्य बनाउन समय लाग्ने देखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्