site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मुस्किलले छापियो मेरियाको कथा

“म आफूलाई खोज्न हिँड्न लागेकी ।”

“आफूलाई खोज्नुको अर्थ ?”

“मिस मेरियालाई खोज्न । बुझेनौ ? बुद्धको देशको मान्छे...।” ऊ रिसाउँछे ।

यही सानो संवादबाट म ‘मधुपर्क’लाई सम्झन चाहन्छु । ‘मेरियाको क्षितिज’ शीर्षकमा ‘मधुपर्क’मा प्रारम्भ महिनाहरूका अंकमा यो कथा प्रकाशित छ । यस कथासँगै म ०२४–०२५ को काठमाडौंका सम्झनाहरूलाई आफूभित्र नवीकरण गर्ने प्रयासमा छु ।

वि.सं. २०२४ को प्रारम्भमा काठमाडौं आई कविवर केदारमान व्यथितको सदाशयताले म साझा यातायतसँग सम्बद्ध थिएँ । वसन्तपुरनजिकको झोछेँमा डेरा लिएको थिएँ र राम्रै संघर्षमा थिएँ, बाँच्न अनि लेख्न ।

काठमाडौंका धेरै साहित्यकारहरूसँग परिचय र सम्पर्क बढाउँदै आफूलाई लेखनमा सम्बद्ध र सक्रिय राख्न थालेँ । ‘रूपरेखा’, ‘रचना’ आदि साहित्यिक पत्रिकाहरू राम्रैसित निस्किरहेका थिए ।

नयाँ पुराना धेरै साहित्यकारहरू यी दुई पत्रिकासँग सम्बद्ध थिए । त्यही समयमा एउटा गजबको साहित्यिक हल्ला आयो, गोरखापत्र संस्थानले एक साहित्यिक मासिक प्रकाशन गर्ने भएको छ, जसको नाम ‘मधुपर्क’ हो ।

हामी केही साहित्यकारहरू जिल्लिएर तुरुन्तै यस्ते टिप्पणी गर्‍यौँ, ‘मधु’ भनेको ‘मह’ हो, ‘पर्क’ भनेको सुँगुरको मासु । अर्थात्, पूर्वीय र पश्चिमी दुवै साहित्यको रसस्वादन गर्ने यसको उद्देश्य होला भन्ने भ्रममा हामी केही दिन रह्यौँ ।

एक दिन ‘मधुपर्क’सित सम्बन्धित व्यंग्यकार भैरव अर्यालले हाम्रो अज्ञानता वा भ्रमलाई यसरी स्पष्ट पारिदिनुभयो– ‘मधुपर्क’ भनेको मह, घिउ, चिनी, सक्खर र जल मिलाएर बनाइएको देवता, वर, अतिथि आदिलाई अर्पण गरिने पदार्थ अर्थात् घिउ, मह र चिनीका मिश्रण हो, जसको हाम्रो संस्कृति र धर्ममा महत्त्वपूर्ण मूल्य रहेको छ ।

‘मधुपर्क’को बृहत् र आकर्षक अर्थ बुझेर हामीले लामो श्वास फेर्‍यौँ ।

अहिले लाग्छ– नेपाली भाषा साहित्यको सम्वद्र्धन र विकासमा हालसम्म ‘मधुपर्क’ले वास्तवमा मधुपर्ककै काम गरेको छ । त्यो समय र हालको समयमा आकाश जमिनको अन्तर छ ।

त्यो बेला राजनीतिक, जातीय वा क्षेत्रीय रूपमा स्रष्टाहरू बाँडिएका थिएनन्, न त खास गुटबन्दी नै थियो । प्रतिभा, साधना र त्यागको समय थियो । लेखक–कविकहाँ जानु र दर्शन मात्र पाउनु पनि हामी आफूलाई भाग्यमानी ठान्थ्यौँ ।

हाम्रो विशेष श्रद्धाका स्रष्टाहरू थिए, कविवर केदारमान व्यथित, कवि वासु शशी, कवि नीरविक्रम प्यासी । अनि, कृष्णचन्द्रसिंह प्रधान, विजय मल्ल, दौलतविक्रम विष्ट, पोषण पाण्डे, शंकर लामिछाने, भैरव अर्याल हाम्रा आस्था र विश्वासका साहित्यकारहरू थिए ।

‘रूपरेखा’ र ‘रचना’ दुवै स्तरीय र नाम कमाएका पत्रिका भए पनि ‘मधुपर्क’ले प्रारम्भदेखि नै आफ्नो बेग्लै प्रकारको साहित्यिकस्तर कायम गरेको थियो । पञ्चायती व्यवस्था भएकाले राजा र पञ्चायतसम्बन्धी एकदुई लेखरचना छापिए पनि वर्चस्व शुद्ध साहित्यकै थियो ।

यसको श्रेय नारायणबहादुर सिंह, भैरव अर्याल र केशवराज पिंडालीमा जान्छ । त्यस बेलाका सबै लेखकहरू ‘मधुपर्क’मा नै आफ्ना रचनाहरू छाप्न चाहन्थे । कारण थियो, स्वदेश र विदेशमा पुग्ने गरी गरिएको वितरण व्यवस्था र पारिश्रमिक ।

म पनि ‘मधुपर्क’मा मेरो कथा छापियोस् भनेर प्रयासमा थिएँ । ‘मेरियाको क्षितिज’ कथा प्रकाशित भयो, प्रारम्भतिर नै । परन्तु, त्यो कथा प्रकाशित गर्न मैले अलिकति रोटी बेल्नै पर्‍यो ।

यस्ता सानातिना घटनाहरू व्यहोर्नु – मलाई लाग्छ, प्रत्येक साहित्यकारका लागि सामान्य विषय हो । तैपनि, यो घटना म बिर्सन सक्तिनँ । यसलाई मैले अहिले नलेखे पनि हुने हो । परन्तु, कुनै अदृश्य शक्तिले लेख्न प्रेरित गर्‍यो ।

विश्वमा त्यो समय ‘भोको पिँढी’ अर्थात् ‘हङ्ग्री जेनेरेसन’ले हल्लाएको थियो । अनि, गाँजा खानेहरूका लागि नेपाल स्वर्ग बनेको थियो । धेरै हिप्पी वसन्तपुर क्षेत्रमा गाँजा खाएर हल्लिरहेका भेटिन्थे ।

म, शैलेन्द्र साकार, कविताराम आदिले ‘अस्वीकृत जमात’ नामक साहित्यिक आन्दोलनको प्रारम्भ गरेको समय थियो । विशेषतः हामी युवाहरू (म अहिले हरिश बमजनलाई विशेष सम्झन्छु) वसन्तपुर, झोछेँ एरियातिर घुमिरहन्थ्यौँ ।

कहिले खुकुरी रमसहित, कहिले यसै उसै । विदेशबाट आएका नेपालप्रेमीहरूसँग हामी पनि कुराकानी, भेटघाट गर्थ्यौँ । केही साथीहरू गाँजासम्म पनि साथ दिन्थे ।

त्यही बेला एउटी अमेरिकी केटी मेरिया भेटिएकी थिई ।

नेपाली कथालाई अन्तर्राष्ट्रियकरण गर्दै जानुपर्छ भन्ने मेरो धारणा थियो र एक दिन मेरिया मेरो कथामा आई । मैले शीर्षक दिएँ, ‘मेरियाको क्षितिज’ ।

कथा लेखेँ भनेर दंग पर्दै म ‘मधुपर्क’को कार्यालयमा पुगेर आफ्नो कथा पढ्न थालेँ । मलाई लाग्छ– त्यो बेला कथा सुन्ने नारायणबहादुर सिंह र भैरव अर्याल हुनुहुन्थ्यो ।

सबैले ध्यान दिएर सुने, चिया पनि खाइयो । मेरो कथाको पाण्डुलिपि (३–४ पेज) पढेर नारायणबहादुर सिंहले भन्नुभयो, “यसमा व्याकरणगतः धेरै त्रुटि छन् । तपाईंहरू युवा लेखकले भाषा, व्याकरण, शुद्धाशुद्धीमा बढी ध्यान पुर्‍याउनुपर्छ ।”

“भाषा, व्याकरण यहाँहरूले मिलाइदिनुहोला । म सिक्दै छु । राम्रो आउँदैन ।” मैले विनम्रतापूर्वक भनेँ ।

अब कमेन्ट गर्ने पालो भैरव अर्यालको थियो । उहाँले आफ्नै किसिमको स्वर निकालेर बिस्तारै भन्नुभयो, “यसको कथावस्तु त्यति राम्रो लागेन । विदेशी पात्र रहिछे । अरू अर्को कथा ल्याऊ न ।”

भैरव अर्यालसँग मेरो अत्यन्त घनिष्टता थियो । वसन्तपुरको मेरो डेरामा उहाँ बरोबर आइरहनुहुन्थ्यो । म रिसाउँला भन्ने पनि उहाँलाई डर थियो । तर, मैले आफ्नो स्वाभिमान बोलेँ, “म यो कथा फिर्ता लान्नँ, शुद्धाशुद्धी पनि गर्न सक्तिनँ ।”

त्यसपछि म चुपचाप कथा छाडेर निस्केँ । मलाई पछि अचम्म लाग्यो । ‘मधुपर्क’मा त्यो कथा छापिएर आयो । मलाई प्रकाशित होला भन्ने मनको कुनै कुनामा थिएन ।

आज लगभग चालीस वर्षमा मेरा घटीमा एक सय कथाहरू छापिएका होलान् । अझ छापिँदै छन् । यो मेरो सौभाग्य हो र ‘मधुपर्क’ नेपाली साहित्यको राम्रो ऐना तथा अनुभूतिको माध्यम भएर आफ्नो अलग इतिहास कायम गर्न समर्थ भएको छ ।

‘मधुपर्क’ले आफ्नो स्वच्छ साहित्यिक तस्बिर प्रस्तुत गर्दै आए पनि कहिलेकाहीँ राजनीतिक छापले काम गरेजस्तो अनुभूति मलाई हुन्छ । सबैतिर राजनीति, गुटबन्दी, जातीयता, क्षेत्रीयताले भूमिका खेलिरहेको बेला ‘मधुपर्क’ अलग रहन गाह्रो होला, तैपनि साहित्य र साहित्यकारको मर्यादा, प्रतिभा र सेवा लेखनको स्तर आदिलाई ‘मधुपर्क’ले ध्यान पुर्‍याउनुपर्ने देख्छु । 

होइन भने ‘जेनुइन’ साहित्यकारहरू समाप्त हुनेछन् । मेरो मेरियाको कथा यत्ति हो ।

(प्रसिद्ध आख्यानकार परशु प्रधानको संस्मरणात्मककृति ‘जिन्दगीका मोडहरू’बाट ।)
 

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्