site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
म पनि परिवर्तन र आन्दोलनको सिपाही

विक्रमाब्द २०३६ को आन्दोलनमा सहभागी हुँदा म अठार वर्षको थिएँ । शंकरदेव क्याम्पसमा बीकम पढिरहेको थिएँ । र, विद्यार्थी आन्दोलनमा पनि सहभागी थिएँ ।

विद्यार्थी नेताहरू देशमा जनवादी शिक्षा हुनुपर्ने भाषण गर्थे । जनवादी शिक्षा के हो भन्ने कुरा त थाहा थिएन, तर अवश्य अहिलेको भन्दा राम्रै होला भन्ने विश्वास गर्थें । 

त्यसैबखत म एउटा विद्यालयको शिक्षक पनि थिएँ । त्यति बेला शिक्षकलाई खासै तलब सुविधा थिएन । शिक्षकको हकहितका लागि ठूलो आन्दोलन चलिरहेको थियो, जसमा म पनि सहभागी भएँ ।

म कुनै नेता त थिइनँ, न त भाषण गर्न आउँथ्यो न त कुरा गर्न नै । तर, आन्दोलनको पक्षधर भएका कारण नेताहरूले खटाएको काम गर्थें । कुरा त्यति नबुझे पनि परिवर्तनका लागि गरेँ भन्ने कुराले गौरवान्वित हुन्थेँ ।

कविता लेख्ने, अन्तरक्याम्पस प्रतियोगितामा सहभागी हुने र कहिले प्रथम त कहिले दोस्रो हुने क्रम चलिरहेकै थियो । यद्यपि, मैले राजनीति बुझेको थिइनँ ।

मनमा एउटा कुराचाहिँ के थियो भने देश र समाजका लागि केही न केही गर्नुपर्छ । तर, के गर्नुपर्छ भन्ने थाहा थिएन ।

परिवारको जेठो म । मेरा मुनि चार भाइ र चार बहिनीहरू थिए । बाआमालाई हामीलाई हुर्काउन र पढाउन मात्र पनि धेरै मिहिनेत गर्नुपर्थ्यो । बाआमा म आन्दोलनतिर लागेको रुचाउनु हुन्नथ्यो । केही नराम्रो होला, पुलिसले पक्रेर लैजाला भनेर अत्यन्तै डराउनुहुन्थ्यो ।

बेलाबेला तत्कालीन सरकारले मान्छे बेपत्ता पारेको कुरा गाइँगुइँ घरसम्म आइपुग्थ्यो । बा चाहनुहुन्थ्यो, मेरो जीवन साधारण र सरल होस् ।

बाआमा कम पढेलेखेका । म क्याम्पस गइसकेपछि पढाइका बारेमा बाले सोधखोज गर्ने कुरै भएन ।

क्याम्पसको रुटिन बाआमालाई थाहा हुने पनि कुरा भएन । बस्, छोरा क्याम्पसबाट फर्केपछि भोकै आयो होला, जे भए पनि खाजाखाना खुवाउनुपर्छ भन्ने आमाको चिन्ता हुन्थ्यो । बाको पनि छोराको समग्र सुस्वास्थ्य र समृद्धि होस् भन्ने चाहना हुन्थ्यो ।

आफूले जतिसुकै दुःख गरेर भए पनि छोराछोरीको पढाइ हुनुपर्छ भन्ने मान्यता उहाँको थियो ।

फेरि, मभन्दा मुनिका चार बहिनी र चार भाइहरू हुर्काउने जिम्मा त मेरै थियो । शिक्षण पेसा गरेर आएको ३३५ रुपैयाँ बाको हातमा राखिदिन्थेँ । बाले फेरि हरेक दिनको खर्च मलाई दिनुहुन्थ्यो ।

भाइबहिनीहरू पनि आआफूले सकेको काम गर्थे र पढ्थे । परिवार एउटा टिमवर्कमा चलिरहेको थियो ।

त्यो उमेरको समय फर्केर हेर्दा लाग्छ, मसँग प्रशस्त समय थियो । कक्षाकोठामा गएर पढ्न, साथीहरूसँग गफिन, एक असल शिक्षक भएर काम गर्न, संगीतको कक्षामा राग सिक्न, प्रतिभा साहित्यिक मासिक गोजिका प्रकाशित गर्न, कविता लेख्न, भाइबहिनीहरूसँग समय बिताउन, आन्दोलनमा सहभागी हुन ।

के मात्र गरिनँ ! खल्तीमा पैसा नहुँदा पनि सबै कुरा गर्न भ्याइने रहेछ । सायद त्यो उमेरको शक्ति पो हो कि ?

त्यसपछि २०४६ सालको आन्दोलनमा खटेर समय खर्चिएँ । २०६२ सालमा पनि लागिपरियो । यी सबै आन्दोलनमा लागेबापत मैले राज्य वा सँगै हिँडेका नेताहरूसँग केही मागेको छैन ।

पछि आफू व्यवस्थापनको विद्यार्थीका रूपमा स्थापित भएपछि मेरा आँखाले अलिकति अव्यवस्था भएको देख्यो कि असन्तोष त हुन्थ्यो, तर मसँग सच्याउन सक्ने शक्ति, सत्ता केही पनि थिएन । एक आमनागरिक जो थिएँ । र, छु पनि ।

मलाई लागको कुरा सुझावको रूपमा त राख्थेँ, तर पदमा नभएको मान्छेको कुरा न जनता न नेता, कसैले नसुन्ने रहेछ । विज्ञ नै नठान्ने रहेछन् आमनागरिकलाई ।

पछिल्लो समय मैले गर्ने काममा त दशकअघिदेखि नै भन्न थालिसकेको थिएँ, ‘युवाहरूले जिम्मा लिनू, अब मैले त पछाडि बसेर सहयोग गर्ने हो ।’

कसैले पनि सहयोग माग्दा भन्ने र गर्ने गरेको छु, ‘मेरो सेवा र सहयोग निःशुल्क हुनेछ ।’

त्यसमा नै खुसी हुने हो । यसमा पाका र युवाहरूको सचेतना, मिहिनेत, विकासप्रतिको तीव्र चाहना, अहिंसात्मक सोच, नकारात्मक र गालीगलौजको व्यवहारबाट मुक्त हुन जरुरी छ ।

आखिर हाँसेर, कामलाई रमाइलो बनाएर नै बाँच्नुपर्छ ।

यो समयमा देशमा ठूलो परिवर्तन भएको छ । दुःखद घटनाहरू पनि घटेको छ । सुपरिवर्तनका लागि सानो उमेरमै सचेतताका साथ लागिपरेका मित्रहरूलाई सम्मान र परिवर्तनको चाहना राखेर जुलुस गर्दा, सार्वजनिक सम्पत्ति जोगाउँदा, अप्रत्याशित मुठभेडमा मृत्युवरण गरेका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु ।

अब सुखका दिन आउने आशा गरौँ । हामी सबै मिलेर मात्र देश बन्छ । सबैमा शुभकामना ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्