कविता, गीत, कथा, गजल, मुक्तकजस्ता विविध विधामा कलम चलाउँदै आएकी गजलकार बिटु केसीको ‘धीत’ पहिलो गजलकृति हो । फुटकर रूपमा गजल लेखिरहने केसीको यसअघि ‘मायाको मात’ मुक्तकसंग्रह प्रकाशित छ ।
निकैअघिदेखि अमेरिकामा बस्दै आएकी बिटु केसीले प्रवासमा रहँदा पनि आफूलाई लेखन र सिर्जन कार्यमा सक्रिय राखेको प्रमाण प्रशस्त छन् । नेपाल मुक्तक प्रतिष्ठानको आजीवन सदस्य, नेपाल अन्तर्राष्ट्रिय साहित्य समाज ह्युस्टनको पूर्वसल्लाहकार, नेपाल अमेरिका पत्रकार संघको पूर्वकोषाध्यक्ष, स्रष्टा साँझ अमेरिकाको सदस्य, हिमालयखबर डटकममा लेखन तथा सम्पादन सहयोगीका रूपमा रहेको उनको भूमिकाले केसीको लेखन क्षेत्र पत्रकारितामा समेत विस्तार भएको देखिन्छ ।
युट्युबमार्फत ‘आधा मन’ नामक गीति एल्बम समेत प्रकाशन गरेकी केसी एक उम्दा लेखकका रूपमा रहेको देखिन्छ ।
‘धीत’ गजलकार बिटु केसीको प्रकाशित एक अब्बल गजलकृति हो । कृतिभित्रका गजललाई एक पाठकका नजरबाट यहाँ पर्गेल्ने प्रयास गरिएको छ ।
गजलकार केसीले ‘धीत’मार्फत आफ्नो जीवनवरपर रहेका अनेकौँ विषयसँग अनुभूतिलाई पगालेर पस्केकी छन् । गजलप्रति उच्च लगाव भएकाले गजलमा आफ्नो अनुभूति विलय भएको स्वीकारोक्ति उनले गरेकी छन् ।
गजल उनका लागि प्यास, नशा, आस्था, प्रेम र पूजा रहेको उनी बताउँछिन् । भावनाको बहावले ओतप्रोत भएका यस संग्रहका गजललाई निम्न दृष्टिकोणबाट पर्गेल्न सकिन्छ ।
प्रेम
यस गजलसंग्रहभित्र मायाप्रेमबाट प्रेरित गजलहरूको बाहुल्य छ । तथापि, देश, जीवन, समाज, प्रकृति र सृष्टिप्रेम बोकेका गजल पनि प्रशस्त रहेका छन् । यद्यपि, यस शीर्षकअन्तर्गत सृष्टिप्रेम अर्थात् प्रेमी र प्रेमिकाबीच हुने प्रेम सन्दर्भका गजलको मात्र चर्चा यहाँ गरिन्छ ।
कृतिमा प्रेम सैन्दर्यअन्तर्गत संयोग शृंगार र विप्रलम्भ शृंगारले ओतप्रोत भएका २५ वटा गजल छन्, जसमा प्रेमी–प्रेमिकाबीचको मिलन, प्रेम प्रसंग, स्पर्श, सन्तुष्टि, त्याग, विरह, व्यथा आदि भेटिन्छन् । त्यस्तै, विरह र पीडाका आलाप र घुर्कीहरू पनि छन् ।
प्रेमलाई महान् अस्तित्वको स्वीकार यसरी गरिएको छ–
प्रेम तपस्या हो महाअडान चाहिन्छ
त्यसै कहाँ मन पर्छ बरदान चाहिन्छ । (पृ. १९)
त्यसैगरी, वियोगान्त प्रेमका विरह यसरी पोखिएको छ–
सँगै चिया पिउने चौतारी यही हो
छुटेपछिको प्रेमकहानी मन पर्यो । (पृ. ३१)
माटो/देश
कतै कुनै सन्दर्भमा देशप्रति कसैले नराम्रो बोल्दा वा विचार गर्दा अगाध प्रेमभाव जागृत हुन्छ । माटोमा बहने जीवनको सौन्दर्य हृदयमा आएर गाडिन्छ । जड, भौतिक वस्तु पनि आफ्नो जन्मसँग जोडिएर आउँदा त्यो नशानशामा रगत भएर बग्छ ।
त्यही भावनात्मक सम्बन्ध र एकता नै माटोप्रतिको माया हो । यस कृतिभित्र उक्त चरित्रका ११ वटा गजलहरू रहेका छ्न् । श्रम गरेर देशको मुहार फेर्ने जमर्को, बाँझो जमिनमा पसिना बगाएर हराभरा बनाउने चाहना, हिमाल पहाड र तराईलाई एकार्कासँग गाँसेर विकास रोप्ने भावना यस संग्रहका गजलमा छन् ।
हेर्दै छु, हरेक जोगीको भेष हेर्दै छु
धमीरा लाग्यो भन्थे देश हेर्दै छु । (पृ. १६)
०००
आमाको साख त्यो चुरिफुरी किन्नु छ
अति भो दाइ, एउटा खुकुरी किन्नु छ ।
समाज
एउटा लेखकले आफ्नो समाजलाई राम्रोसँग चिनेर विचार व्यक्त गर्यो भने उसको विचार अब्बल बन्न सक्छ । ‘धीत’ गजलसंग्रहमा पनि समाजलाई राम्ररी पर्गेल्ने २० वटा गजल छन् । कतै समाजका राम्रा पक्ष, अभाव, विवशता, विद्रुप चित्रहरू छन् भने कतै समाज परिवर्तनका स्वप्निल विचारहरू आएका छन् ।
समाजमा देखिने अनेकन विकृतिहरूले लेखकको मनमा ठूलो आघात पुर्याएको छ । त्यस्ता विकृति अन्त्य गर्न धीतका गजलहरूले आह्वान गरेका छन् ।
कतै पिपल त कतै वर हरायो
हेर्दाहेर्दै गाउँबाट घर हरायो । (पृ. १८)
०००
आफू सक्किएरै उसले छोरा सफल बनायो
छोराको पालो आयो, बालाई पागल बनायो । (पृ. ४८)
भ्रष्टीकरण/राजनीतिक विकृति
सत्ता बिक्दै छ हेर भाउ लागेको छ
कतै उत्सव त कतै घाउ लागेको छ । (पृ. २१)
मै ठूलो देशको अहँ धरम लागेन
तीन करोड नेपालीको शरम लागेन । (पृ. ३५)
भ्रष्ट र राजनीतिक विकृतिमाथि चोटिला विचार अभिव्यक्त छ माथिका केही सेरमा । यस चरित्रका गजलहरू १२ वटा छन् ।
जीवनदर्शन
सबैको आआफ्ना जीवनदर्शन, चिन्तन, विचार र दृष्टिकोण हुन्छन् । प्रायः जीवनदर्शन सकारात्मक कोणको हुन्छ र हुनुपर्छ पनि । अनुभूति, भोगाइ परिस्थिति आदि कुराको बोधपछि मान्छेले आफ्नो जीवनदर्शन तय गर्छ । समय, परिस्थिति, समाज, युगीन चेतना आदि कुराले आत्मबोध गराउँछ ।
कृतिभित्र लेखकले चिन्तन प्रवाह गरेका १५ वटा गजलमा स्थूल रूपमा जीवनदर्शन देखापरेको छ ।
टिपेर दिन्थेँ रौँ हजुरआमालाई
ऐनामा आफ्नै फूलेको केश हेर्दै छु । (पृ. १६)
०००
ढुंगा कसरी देउता बन्दो रहेछ
आस्थाका पूजा थालीमा हेरेँ । (१७)
डायस्पोरा
देश परिवेशको परिवर्तन, पारिवारिक वियोग, साथीभाइ आफन्तबाट अलग गराउने परिस्थिति र मनोदशामा ‘धीत’ संग्रहभित्र १४ वटा गजल छन् ।
सबैभन्दा पवित्र पानीको कसम
मैले साँचेको जवानीको कसम । (पृ. २२)
यसअतिरिक्त गजलहरूमा मानसिक अन्तद्र्वन्द्व, पीडा, खुसी, खोज र जिज्ञासाजस्ता मनोभावलाई प्रस्तुत गरिएको छ । सूक्ष्म ढंगले आफूभित्रका ससाना दुःखलाई प्रस्तुत गरेर सन्तुष्टि खोजेको आभास पाइन्छ । ससाना खुसीका झिल्कालाई विशाल प्रकाशमय आयाममा रूपान्तरण गरेको आशय पाइन्छ ।
निष्कर्ष
गजलकार केसीको ‘धीत’ आयामका हिसाबले मझौला कृति हो । यसभित्रका ८२ वटा गजलहरू मुक्त, स्वतन्त्र र लयबद्ध छन् । नेपाली भाका वा जनजीवनमा चलिआएका कतिपय लयहरूलाई आफ्नो मौलिक पहिचान बनाएका छन् गजलले ।
केही १०/११ धेरै १४/१५ संरचनाका गजलहरू छन् । एकदुई गजल केही लामा पनि छन् । प्रायः पाँच सेरका छन् भने केही गजल ६ सेरका पनि छन् ।
प्रत्येक गजललाई सुन्दर, आकर्षक र प्रभावकारी चित्रले सम्पुष्ट गरेका छन् ।
केही चित्र गजलको केन्द्रभन्दा बाहिर पनि देखिएका छ्न् । कलापूर्ण चित्रकारिताले गजलको ओजलाई थप बढाएका छन् ।
यस कृतिको प्रकाशन साहित्यपोस्टको शब्द मिडियाले गरेको हो ।
केसीद्वारा लिखित ‘धीत’ गजलसंग्रह समसामयिक विषयवस्तुले भरिपूर्ण एक अब्बल कृति हो । यसमा लेखकले आफ्ना अनुभूति घोलेर समावेश गरेकी छन् । लेखनमा गजकारको मौलिकपनले मुग्ध पार्छ । मुक्त स्वतन्त्र लयमा विचारलाई लयबद्ध गर्न सफल गजलकारले प्रेमका बहुआयामलाई संयोग र विप्रलम्भ शृंगारको माध्यमबाट उचाइमा पुर्याउने प्रयत्न गरेकी छन् ।
आप्रवासनको पीडालाई नेपाली भएर अनुभूत गरेकी छन्, देश र माटोको लागि ।
समग्रमा नेपाली साहित्यमा गजलको धीत मार्ने एक सफल कृति थप्न सफल भएकी छन्, गजलकार बिटु केसी ।
(दमक)