site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैन : इन्जिनियर्स एसोसिएसन

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ ।

एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको उक्त भवन तत्काल प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएका हुन् ।

शनिबार (असोज ४) मन्त्रालय परिसरमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनेक्रममा उनले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताए । दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको आफूहरूको प्रारम्भिक निरीक्षणले देखाएको अध्यक्ष बरालले जानकारी दिए ।

“स्वास्थ्य मन्त्रालयको भवनको अवस्था हेर्दा यसको वालहरूमा त्यति क्षति नभए पनि अरू टोटल्ली क्षति भएको अवस्था छ, जसले गर्दा यसलाई हाललाई प्रयोग गर्न अत्यन्त जोखिम छ,” उनले भने, “त्यस्तै गरेर हामी केही समयअघि सर्वोच्च अदालत हेर्‍यौँ । यसको पनि उत्तरपट्टिको भाग बढी जोखिम छ । त्यसकारण यसमा पनि काम गर्न गाह्रो छ ।”

उनले अगाडि भने, “सिंहदरबारको भवनहरू हेर्दा पनि केही ठाउँमा बढी क्षति भए पनि धेरैजसो ठाउँ क्षति नभएको पनि देखिन्छ । लामो समयसम्म आगो रहिरहेको ठाउँमा बढी डयामेज भएको अवस्था छ ।”

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका सरकारी तथा निजी भवनहरूको निरीक्षणको कामलाई एसोसिएसनले सरकारसँगको समन्वयमा तीव्रता दिएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्