काठमाडौं । मुग्लिन–नारायणगढ सडक खुलाउन अझै समय लाग्ने भएको छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि सडक अवरुद्ध छ ।
उक्त सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको छ । मुग्लिनतर्फबाट ढुंगा खस्ने क्रम जारी रहेकाले पहिरो हटाउन समस्या भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
अँध्यारो भएपछि शनिबार (असोज ४) बेलुकादेखि रातिसम्मलाई पहिरो पन्छाउने कार्य रोकिएको छ । आइतबार (असोज ५) बिहान झिसमिसे उज्यालो भएसँगै पहिरो हटाउने कार्य पुनः थालिने सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
“आज पनि आँखाले देखिन्जेल उज्यालो भएसम्म पहिरो हटाउने कार्य भयो,” उनले बाह्रखरीसित भने, “रातिको समयमा जोखिम हुने भएकाले रोकिएको छ । भोलि बिहान झिसमिसे उज्यालो भएसँगै काम फेरि सुरु हुन्छ ।”
अब पहिरो पन्छाउने कार्य आइतबार बिहान साढे ५/६ बजेतिर थालिने उनले बताए ।
पहिरो हटाएर आइतबार बिहान १०/११ बजेसम्म बाटो खुलाउन सकिने प्रारम्भिक अनुमान छ । “पहिरो झर्ने क्रम रोकियो भने भोलि बिहान १०/११ बजेसम्म बाटो खुलाउन सकिने प्रारम्भिक अनुमान गरेका छौँ,” उनले भने ।
शनिबार पहिरो पन्छाउने क्रममा ठूलो दुर्घटना हुनबाट जोगिएको सडक डिभिजनले जनाएको छ । “...थप पहिरो खस्ने क्रम नरोकिएको हुँदा पहिरो पन्छाउने क्रममा माथिबाट ढुंगाहरू खसी झन्डै एक्साभेटर अपरेटर ठूलो दुर्घटना हुनबाट जोगियो,” सडक डिभिजनले भनेको छ ।
सडकमा रोकिएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न आग्रह गरिएको छ । यात्रुलाई सावधानीपूर्वक सुरक्षित स्थानतिर जान सडक डिभिजनले अनुरोध गरेको छ ।
“सडकमा रोकिएका सवारीसाधनहरू लेन अनुशासनमा राख्नुहुन र यात्रु महानुभावहरू सावधानीपूर्वक सुरक्षित स्थानतिर गइदिनुहुन समेत हार्दिक अनुरोध गरिन्छ,” सडक डिभिजनले भनेको छ, “यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।”