काठमाडौं । ‘जेनजी’को प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेका मध्ये हालसम्म ६ हजार ३२८ कैदीबन्दी फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो कैदीबन्दी फर्किरहेका बताए ।
उनका अनुसार, कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् । कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन् । पछिल्लो एक दिनमा मात्र १४९ जनालाई फर्काइएको छ ।
गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ बाल सुधारगृहबाट गरी १४ हजार ५५५ कैदी भागेका थिए । अझै आठ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको निर्देशक न्यौपानेले बताए ।
उनका अनुसार, कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट ९६४ जना भागेका थिए । सम्पर्कमा आएका मध्ये कारागारबाट भागेका पाँच हजार ९८७ र सुधारगृहतर्फका ३४१ जना रहेका छन् ।
आन्दोलनका क्रममा हिरासतमा रहेका करिब दुई हजार आरोपित समेत फरार रहेका प्रहरीले जनाएको छ । उनीहरूको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
देशभर ३० हजार ६३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९९९ जना मात्र छन् । रासस