site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमविद् भन्छन्– हिले दसैँ हुने सम्भावना धेरै
फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको दसैँ अवधिमा वर्षाको पूर्वानुमान गरिएको छ । मौसमविद्ले हिले दसैँ हुने सम्भावना औँल्याएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आउँदो साता पानी पार्ने प्रणाली मनसुन फेरि हुन सक्ने जनाएका छन् । मनसुन सक्रिय र हिले दसैँको सम्भावना उनले औँल्याएका हुन् ।

“अर्को हप्ता दसैँको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ,” उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “जसका कारण नेपालभरि हिले दसैँ हुने सम्भावना धेरै रहेको छ ।”

घटस्थापना (असोज ६)देखि एक सातासम्म मनसुन त्यति सक्रिय नदेखिने उनले उल्लेख गरेका छन् । “तर, साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ,” उनले लेखेका छन् ।

पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले पनि मनसुन पुनः सक्रिय हुने सम्भावना कायम रहेको जनाएका छन् ।

देशमा मौसमको निगरानी गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले पनि केही दिनपछि मनसुन पुनः सक्रिय हुने पूर्वानुमान रहेको बताएकी छन् । त्यो समय दसैँ सुरु भइसकेको हुनेछ ।

“केही दिनपछि पुनः मनसुन सक्रिय हुनेछ,” मौसमविद् महर्जनले शनिबार बाह्रखरीसित भनेकी छन्, “त्यो प्रणाली केही दिन सक्रिय रहँदा वर्षा हुनेछ ।” वर्षा भए पनि लगातार झरी नपर्ने उनले प्रस्ट पारेकी छन् ।

दसैँको टीकासम्म मनसुन नेपालबाट नबाहिरिए पनि ठूलो वर्षा र झरीको सम्भावना नरहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्