site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतसँग फेरि निराश बन्यो पाकिस्तान

काठमाडौं । एसीसी एसिया कपको सुपर–४ मा भारतले पाकिस्तानविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । 

आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १७२ रनको लक्ष्य भारतले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।  

भारतका ओपनर अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाए । उनले ३९ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । अर्का ओपनर सुभमन गिलले २८ बलमा आठ चौकासहित ४३ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ९.५ ओभरमा १०५ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुआत दिलाएका थिए । 

तिलक वर्माले २० र सञ्जु सामसनले १३ रन थपे । 

पाकिस्तानका ह्यारिस रौफले दुई विकेट लिए । अब्रार अहमेद र फहिम अस्रफले समान एक विकेट हात पारे । 

त्यसअघि, टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो । 

पाकिस्तानका ओपनर फरहानले सर्वाधिक ५८ रन बनाए । उनले ४५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । फरहानले २१–१ को स्थितिबाट सैम अयुबसँग ७२ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ सम्हालेका थिए ।

अयुबले १७ बलमा २१ रन थपे । मोहम्मद नवाजले २१ रन जोड्दा कप्तान सलमान आघाले २१, फखर जमानले १५ र फहिम असरफले २० रन बनाए । 

भारतका सिवम दुवेले दुई विकेट लिए । हार्दिक पन्ड्या र कुलदीप यादवको नाममा समान एक विकेट रह्यो । 

जारी प्रतियोगितामा भारत र पाकिस्तान दोस्रो पटक आमने–सामने भएका हुन् । यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०५:४२
प्रतिक्रिया दिनुहोस्