काठमाडौं । काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत धादिङमा ठूलो पहिरो खसेको छ । बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खेलानजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन समय लाग्ने धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।
“पहिरो ठूलो छ । गए राति साढे १० बजेतिर पहिरो खसेको हो । राति सवा ११ बजेतिर बाटो एकतर्फी खुलाइएको थियो,” उनले बाह्रखरीसित भने, “बिहान ५ बजे झन् ठूलो पहिरो खस्यो ।”
पहिरो पन्छाउने कार्य जारी छ । अहिले पनि पहिरो गइरहेका कारण पूरै पन्छाउन समय लाग्ने देखिएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
डीएसपी हमालले पनि आज (असोज ७) दिउँसो १–२ बजेअघि सडक खुलाउन सम्भव नभएको बताए ।
सडक अवरुद्ध हुँदा वरपर सयौँ सवारीसाधन बीचबाटोमा रोकिएका छन् । दुवैतर्फ सडकमा गाडीको लामो लाइन रहेको उनले जानकारी दिए ।
काठमाडौं भित्रने र बाहिरिने मुख्य सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् ।