site stats
बाह्रखरी :: Baahrakhari
खेल
बालन डी‘अर : महिलातर्फ बोनमती कीर्तिमानी तेस्रो पटक उत्कृष्ट

काठमाडौं । स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर आइतेना बोनमती महिलातर्फ लगातार तेस्रो पटक बालन डी‘अर जित्ने पहिलो फुटबलर बनेकी छन् ।

२७ वर्षीय बोनमती सोमबार राति पेरिसमा भएको अवार्ड समारोहबाट महिलातर्फको उत्कृष्ट खेलाडी चयन भइन् । उनले आर्सनलकी काल्डेन्टीलाई पछि पार्दै लगातार तेस्रो पटक यो अवार्ड जितेकी हुन् ।

बोनमतिले यसअघि सन् २०२३ र २०२४ मा महिलातर्फ बालन डी‘अर जितेकी थिइन् । 

यसअघि, पुरुषतर्फ अर्जेन्टिना तथा बार्सिलोनाकै लियोनल मेसीले लगातार चार वर्ष बालन डी‘अर जितेका थिए । उनले सन् २००९, २०१०, २०११ र २०१२ को गरी लगातार चार वर्ष यो अवार्ड जितेका थिए ।

“यो मेरो लगातार तेस्रो वर्ष हो । तर, म अझै पनि यो कुरामा विश्वास गर्न सकिरहेको छैन । यसका निम्ति फ्रान्स फुटबललाई धन्यवाद,” अवार्ड ग्रहण गर्दैगर्दा बोनमतीले भनिन् ।

यसैगरी, आर्सनलका फरवार्ड ग्योकेरेसले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् । उनले गत सिजन पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ५२ खेल खेल्दा ५४ गोल गरेका थिए । यही प्रदर्शनका कारण आर्सनलले यसै सिजनका निम्ति ग्याकेरेसलाई ६४ मिलियन पाउन्डमा भित्र्याएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्