site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारत–पाकिस्तान द्वन्द्व : क्रिकेटमा देखिएको 'राष्ट्रवाद' फुटबलमा देखिएन !

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी एसिया कप अहिले खेलभन्दा फरक घटनाका कारण चर्चामा छ । प्रतियोगिताअन्तर्गत समूह चरणको खेलमा भारत र पाकिस्तान मैदान उत्रिँदा यी दुवै टिमका खेलाडीले टस र खेलपछि एकअर्कासँग हात मिलाउन आवश्यक सम्झिएनन् । कारण हो, चर्को राष्ट्रवाद ।

अप्रिल २२ मा भारतको कश्मीरस्थित पहलगाममा बन्दुकधारी आतंककारीले एक नेपालीसहित २६ जनाको हत्या गरेपछि भारत–पाकिस्तान सम्बन्ध थप बिग्रिएको छ । भारत आफ्नो देशमा हुने अधिकांश आतंकवादी हमलाको जिम्मेवार पाकिस्तानलाई ठहर्‍याउँछ ।

पहलगाम हमलापछि पहिलोपटक मैदानमा उत्रिँदा भारत र पाकिस्तान दुवै देशका क्रिकेटर राष्ट्रवादले ओतप्रोत हुँदा खेलभावना बिर्से । पहिलो खेलको टस जितेपछि पाकिस्तानका कप्तान सलमान आघाले भारतका समकक्षी सूर्यकुमार यादवसँग हात मिलाएनन् ।

Ind-Pak-ao-1758611257.png
सोही घटनाको बदलामा भारतका खेलाडी खेलपछि पाकिस्तानका खेलाडीसँग हात मिलाउन मैदानमा उत्रिएनन् । पाकिस्तानका खेलाडी मैदानमा पर्खिरहे तर भारतका अफिसियलले विपक्षी खेलाडीको मुखैमा ढोका थुनिदिए । यो खेल भारतले सात विकेटले जितेको थियो ।

यसपछि आइतबारको दोस्रो खेलमा पनि माथिकै परिदृश्य दोहोरियो । दुवै टिमका खेलाडीले टसमा र खेलपछि हात मिलाउन आवश्यक सम्झिएनन् । कुनै पनि खेलमा खेलअघि वा खेलपछि नतिजा जे भए पनि हात मिलाउनुलाई ‘स्पोर्ट्सम्यानसिप’ भनिन्छ । यसले परिस्थिति जस्तोसुकै भए पनि खेलाडीले खेलभावना बिर्सिनुहुँदैन भन्ने देखाउँछ ।

क्रिकेटमा चर्को राष्ट्रवाद प्रस्तुत गर्ने भारत र पाकिस्तानले फुटबलमा भने यस्तो देखाएनन् । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा यी दुई चिरप्रतिद्वन्द्वी सोमबार मैदानमा उत्रिएका थिए । जहाँ दुवै टिमका युवा खेलाडीले खेलअघि र खेलपछि पनि खेलभावनालाई बिर्सिएनन् । रोमाञ्चक बनेको यो खेल भारतले ३–२ ले आफ्नो पक्षमा पारेको थियो ।

Ind-Pak-a-1758611257.jpg
 

साफ च्याम्पियनसिपमा भारत र पाकिस्तानको सहभागिता
हरेक वर्ष दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले दक्षिण एसियाली मुलुकहरूका निम्ति उमेर समूहमा दक्षिण एसियास्तरीय फुटबल च्याम्पियनसिप आयोजना गर्दै आएको छ, पुरुष र महिला दुवैतर्फ । 

यस वर्ष पनि साफको पुरुष र महिलातर्फ तीन प्रतियोगिता सम्पन्न भइसकेको छ । पुरुषतर्फ साफ यू–१९ च्याम्पियनसिप सम्पन्न हुँदा महिलातर्फ साफ यू–२० र यू–१७ च्याम्पियनसिप सम्पन्न भएको हो ।  

भुटानमा गत २० देखि ३१ अगस्टसम्म साफ यू–१७ महिला च्याम्पियनसिप आयोजना भयो । जसमा भारतसँगै नेपाल, बंगलादेश र भुटानको सहभागिता रह्यो । पाकिस्तानले सहभागिता जनाएन । 

भुटानको चिङलिमिथाङ रंगशालामा डबल राउन्ड रोबिन पद्धतिअनुसार सञ्चालित यस प्रतियोगिताको उपाधि भारतले जितेको थियो । भारतले ३० अंकसहित शीर्ष टोली बन्दै प्रतियोगिता जितेको हो । 

त्यसैगरी, भारतमा गत ९ मे देखि १८ मेसम्म साफ यू–१९ पुरुष च्याम्पियनसिप भएको थियो । भारतले प्रतियोगिताको फाइनलमा बंगलादेशलाई पेनाल्टीमा ३–४ ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको थियो । खेल १–१ को बराबरीमा समाप्त भएपछि पेनाल्टीमा पुगेको थियो । 

भारतको यूपीस्थित गोल्डेन जुब्ली रंगशालामा भएको यस प्रतियोगितामा पनि पाकिस्तानको सहभागिता रहेन । ६ टोली सम्मिलित प्रतियोगिताको समूह ‘ए’मा माल्दिभ्स, भुटान र बंगलादेश थिए । समूह ‘बी’मा भारत, नेपाल र श्रीलंका थिए । 

यसैगरी, बंगलादेशमा गत ११ देखि २१ जुलाईसम्म साफ यू–२० महिला च्याम्पियनसिप भयो । चार देश सम्मिलित प्रतियोगिताको उपाधि बंगलादेशले जितेको थियो । प्रतियोगितामा भारत र पाकिस्तान दुवै सहभागी भएका थिएनन् । नेपाल, बंगलादेश, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्