काठमाडौं । नेपाली पासपोर्टमा ठूलो संख्यामा म्यानमारी खाडी राष्ट्र साउदी अरब पुगेको पाइएको छ । नेपाली पासपोर्टमा साउदी पुगेका म्यानमारीहरुलाई त्यहाँको प्रशासनले नियन्त्रणमा लिई राखेको बुझिएको छ ।
यसबारे साउदी अरबको राजधानी रियादस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ । परराष्ट्रले अहिले यस सम्बन्धमा अनुसन्धान गरिरहेको बुझिएको छ ।
“झन्डै दुई सय म्यानमारी नेपाली पासपोर्टमा साउदी अरब पुगेको भन्ने सूचना प्राप्त भएको छ । यस विषयमा सम्बन्धित देशमा रहेको नेपाली दूतावास र राजदूतसँग हामी बुझ्दै छौं,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाह्रखरीसँग भने ।
साउदी सरकारले रियादस्थित नेपाली दूतावासलाई सुरुमा यसबारे जानकारी दिएको थियो । साउदीको अध्यागमनले भिसा समयभन्दा बढी बसेका (ओभर स्टे) ठूलो संख्यामा आप्रवासीलाई नियन्त्रणमा लिएको थियो, जसमा नेपाली पासपोर्टमा गएका म्यानमारी पनि थिए ।
“साउदीको अध्यागमनले तपाईँहरुको नागरिक फिर्ता लैजानोस् भनेर पत्र पठाएपछि बुझ्न जाँदा उनीहरु नेपाली नभएको खुलेको थियो,” साउदीको रियादस्थित नेपाली दूतावास स्रोतले बाह्रखरीसँग भन्यो ।
उनीहरु नेपाली नभएको खुलेपछि नेपाली दूतावासले ‘ट्राभल डकुमेन्ट’ दिन अस्वीकार गरेको थियो । तर साउदी अध्यागमनले भने बारम्बार उनीहरुलाई नेपाल फर्काउन नेपाली दूतावासमा ताकेता गर्दै आएको छ ।
“नेपाली पासपोर्टमा साउदी आउने म्यानमारीमध्ये ९० प्रतिशतसँग नेपाली हस्तलिखित पासपोर्ट छ । १० प्रतिशतसँग मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) रहेको छ,” दूतावास स्रोतले जानकारी दियो ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयहरुबाट पासपोर्ट जारी हुँदै आएको छ । नागरिकताका आधारमा पासपोर्ट जारी गर्ने गरिन्छ ।
“नागरिकता नै नक्कली बनाएर पासपोर्ट बनाएको जस्तो देखिन्छ,” दूतावास स्रोतले भन्यो ।
नेपाली पासपोर्टमा पुगेका करिब दुई सय म्यानमारीलाई साउदी अध्यागमनले नियन्त्रणमा लिई राखेको छ । साउदी अध्यागमनले उनीहरुलाई छिटो फर्काउन भने पनि नेपाली दूतावासले उनीहरु आफ्ना नागरिक नभएको बताउँदै आएको छ ।
“उनीहरुसँग भएको पासपोर्ट र भिसा दुवैको समय सकिएको छ । उनीहरु लामो समयदेखि ओभर स्टे गरेको देखिन्छ । उनीहरु आफ्नो देशमा फर्कन ट्राभल डकुमेन्ट आवश्यक पर्छ । तर उनीहरु हाम्रा नागरिक नभएको हुँदा हामीले ट्राभल डकुमेन्ट उपलब्ध गराउने कुरै भएन,” दूतावास स्रोतले भन्यो ।
राहदानी विभागले हस्तलिखित राहदानी बन्द गरी २०६७ मंसिर १० गतेबाट एमआरपी जारी गर्न सुरु गरेको थियो । यस्तै, विभागले एमआरपीबाट स्तरोन्नति गर्दै २०७८ मंसिर १ गतेदेखि ई–पासपोर्ट जारी गर्न सुरु सरेको थियो ।
राहदानी विभागको तथ्याङ्क अनुसार बितेको १५ वर्षमा एक करोड १८ लाख ५५ हजार ११३ थान पासपोर्ट जारी भएका छन् ।
आर्थिक वर्ष २०६७/६८ देखि २०८१/८२ सम्मको अवधिमा उक्त संख्यामा पासपोर्ट जारी भएका हुन् । यसमा हस्तलिखित पासपोर्टको संख्या जोडिएको छैन ।
“धेरैसँग हस्तलिखित पासपोर्ट भएको कारण उनीहरुले १५ वर्षअघि नै ती पासपोर्ट लिएको बुझिन्छ । तर म्यानमारीले कसरी नेपाली पासपोर्ट पाए । पासपोर्ट बनाउनुअघि उनीहरुले कसरी नेपाली नागरिकता बनाए । यो निकै गम्भिर र संवेदनशील विषय हो,” दूतावास स्रोतले भन्यो ।
नेपालीहरु सबैभन्दा ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने देशमध्ये एक हो साउदी अरब । पछिल्ला वर्षमा युनाइटेड अरब इमिरेट्स (यूएई) पछि ठूलो संख्यामा नेपाली साउदी अरब जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ ।
गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका ८ लाख ३९ जहार २६६ जना नेपालीमध्ये एक लाख ५२ हजार ५५७ जना साउदी अरब गएका थिए । आर्थिक वर्ष २०८०/८१ मा एक लाख ४१ हजार ५०२ जना नेपाली रोजगारी खोज्दै साउदी पुगेका थिए ।
