काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा पहिरो पन्छाउने क्रममा एक प्राविधिक घाइते भएका छन् । पहिरो पन्छाउने क्रममा माथिबाट खसेको ढुंगाले लागेर सिनियर अपरेटर राजु मगर घाइते भएका सडक डिभिजन भरतपुरले जनाएको छ ।
“मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा हिजो (बुधबार) राति वर्षाको कारण पहिरो गएको र उक्त पहिरो पन्छाउने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते हुनुभएका सिनियर अपरेटर राजु मगरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” सडक डिभिजनले बिहीबार (असोज ९) जारी गरेको सूचनामा उल्लेख छ ।
मुग्लिन–नारायणगढ सडकअन्तर्गत अरू स्थानमा पनि पहिरोको जोखिम छ । कालीखोला, टोपेखोला, नाम्सीखोला, चिसेन्जीखोला, सिमलताललगायत क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको सडक डिभिजनले जनाएको छ ।
“यससडकखण्डको अन्य स्थानहरूमा – विशेष गरी कालीखोला, टोपेखोला, नाम्सीखोला, चिसेन्जीखोला, सिमलताल क्षेत्रहरू आदिमा पहिरोको उच्च जोखिम रहेको हुँदा सो स्थानहरू र कुनै पनि पुलमाथि सवारी पार्किङ नगरिदिनुहुन अनुरोध छ,” सडक डिभिजनले भनेको छ ।