काठमाडौं । सुपर–४ को आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध ११ रनको जित निकाल्दै पाकिस्तानले एसीसी एसिया कप–२०२५ को फाइनलमा स्थान बनाएको छ । योसँगै एसिया कपको इतिहासमै पहिलो पटक भारत र पाकिस्तान उपाधि भिड्न्तमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
भारतले यसअघि नै सुपर–४ का तीनमध्ये दुई खेलमा जित निकाल्दै फाइनल यात्रा तय गरिसकेको छ । भारतले सुपर–४ को तेस्रो खेलमा आज नै श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । तर, यसमा जित वा हार जे भए पनि भारतको फाइनल समीकरणमा कुनै फरक पर्ने छैन ।
बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १२४ रनमात्र बनाउन सक्यो ।
बंगलादेशका समिम हुसैनले ३० रन बनाए । ओपनर सैफ हसनले १८ रन थप्दा नुरुल हसन र रिसाद हुसैनले समान १६ रन जोडे ।
पाकिस्तानका साहिन साह अफ्रिदी र ह्यारिस रौफले समान तीन विकेट लिए । सैब अयुबको नाममा दुई विकेट हुँदा मोहम्मद नवाजले एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो ।
शीर्ष र मध्यक्रम चल्न नसक्दा कुनै समय ७१–६ को कठिन स्थितिमा रहे पनि तल्लो क्रमका ब्याटरले पाकिस्तानी इनिङ सम्हाले ।
पाकिस्तानबाट छैटौँ नम्बरमा ब्याटिङका निम्ति आएका मोहम्मद ह्यारिसले सर्वाधिक ३१ रन बनाए । उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।
यस्तै, आठौँ नम्बरमा ब्याटिङ गरेका मोहम्मद नवाजले १५ बलमा एक चौका र दुई छक्कासहित २५ रन थपे ।
साहिन साह अफ्रिदी र कप्तान सलमान आघाले समान १९ रन जोडे । फहिम असरफले १४ र फखर जमानले १३ रन बनाए ।
बंगलादेशका ताक्सिन अहमेदले तीन विकेट लिए । मेहदी सहन र रिसाद हुसैनले समान दुई विकेट लिँदा मुस्ताफिजुर रहमानको नाममा एक विकेट रह्यो ।
जितसँगै फाइनल यात्रा तय गरेको पाकिस्तानले आइतबार उपाधिका निम्ति भारतसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले एसिया कपको इतिहासमा हालसम्म टी–२० संरचनाको उपाधि जित्न सकेको छैन । यसअघि दुई पटकको च्याम्पियन रहेको पाकिस्तानले दुवै संस्करण एकदिवसीय संरचनामा आयोजना हुँदा जितेको थियो ।
यता, प्रतियोगिताकै सबैभन्दा सफल टोली भारतले भने हालसम्म आठ पटक उपाधि चुमेको छ । जसमा भारतले सात पटक एकदिवसीय र एक पटक टी–२० संरचनामा आयोजित प्रतियोगिताको उपाधि जितेको इतिहास छ ।