आमा, तिमी चुकिरह्यौ
म दुःखिरहेँ
बाबा, तिमी झुकिरह्यौ
म सुकिरहेँ
हे अग्रज हो, तिमी लुकिरह्यौ
म जलिरहेँ
जिन्दगीको तापमा
सपनाको रापमा
भविष्यले थिचिरह्यो
बतास छेकेर सासमा
निस्सासिँदै कराउँदै
ऐँठनबाट निस्किएँ
आमा, म निस्किएँ !
एक, दुई, तीन निस्किएँ
एउटा उज्यालो आवाजको पछि
त्यही नायकको पछि ।
आज धर्तीभित्र कम्पन छ
पीडाको ज्वालामुखी छ
कतै तिमी जादुमा फस्यौ कि
टुनामा घुम्यौ ?
घनचक्करझैँ फनफनी
भ्रमको नीतिमा
तिमी नाचिरह्यौ
कम्मर भाँचिरह्यौ
मादल फुट्दा पनि
सारंगीको तार छिन्दा पनि
मेरो सपना भने उडिरह्यो
अदृश्य हुरीमा
त्यो सपना भेट्टाउन दौडिरहेँ
हजार मृत्यु मरिरहेँ
अब बाँच्न निस्किएँ म
एक, दुई, तीन, निस्किएँ
आमा, म निस्किएँ !
मैले झोला भरिसकेँ
सगुन नै सगुनको
कापीभरि उज्यालोले लेखेको देश छ
घामपानी छेक्ने छाता छ
म भाषण जान्दिनँ आमा,
त्यसैले ओठ सिउन एक सफेद मास्क छ
देशभक्तिमा रगत बग्यो भने
आखिरी सासलाई
हिमाली गंगाजल छ
त्योभन्दा’नि ठूलो
तिम्रो आशीर्वाद छ
भो, नछेक आमा, आज नछेक
म निस्किएँ
एक, दुई, तीन, निस्किएँ
आमा, म निस्किएँ !
मेरो निकेतन नै माटो
मैले पढेको पनि माटो
तर
आजको पाठ बेग्लै
केही कठिन, केही नवीन
आज मौसम बेग्लै
मेघको गर्जन भिन्न
आज वर्षा रंगीन अनि रक्तिम
छाता छिचोलेर
तपतप
शरीर भिजाउने
सुस्तसुस्त जुत्ता हँुदै पैताला रंगाउने
रातो जताततै ।
मैले आँखा चिम्लिएँ
अचम्म भो, अँध्यारो हैन उज्यालो भो
मैले माटो ढोगेँ
माटोले केही मागेन
केही कुरा दिऊँ दिऊँ लाग्यो
चढाएँ नभिजेको कापी
म रक्ताम्य हुँदा मैले बोकेको कापी
मैले लेखेको नेपालमा
म टाँसिएको छु आज
कापी साबुत छ
सम्हालेर राख
म अनन्त यात्रामा छु
सायद बाँच्नुको अर्थमा बाँचेको छु ।