साहित्य
विद्यानन्द बेदर्दी
मेरो जीवन–घरको
तिमी एक विशिष्ट पाहुना हौ
तिमीले दिएको पीडालाई पनि
म कोसेली ठानेर
मनको सन्दुकमा सँगाल्छु
र पोख्छु मुटुको कलमले
आफ्नै सिर्जनाहरूमा
सहानभूतिको मसीले
भर्छु आशाका रसहरू
अनि पठाउँछु
पत्रिकाका मेलहरूमा ।
छापिएपछि
प्रिय पाठकहरूको प्रतिक्रिया पाएर
मुहारको आकाशमा
झल्किन्छ मुस्कानको इन्द्रेणी
र नयाँ काया पाउँछ
मेरो कवि मनले ।
प्रिये,
तिमीले जस्तै कसैलाई
पीडा त दिन सक्दिनँ,
बरु उनीहरूको घाउमा
एउटा मलमपट्टी बन्न पाएँ भने
मेरो सिर्जना अमर हुनेछ ।
(सप्तरी)
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ ०८:०७
प्रतिक्रिया दिनुहोस्