site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एक भुइँमान्छेको झङ्कार

नेपाली साहित्यमा ‘स्मृतिग्रन्थ’ प्रकाशन गर्ने भनेको समाजमा नाम चलेका लब्धप्रतिष्ठत व्यक्ति अथवा सरकारी सेवाबाट निवृत्त उच्च तहका कर्मचारीको मात्रै आउने गरेको आमबुझाइ छ । सरसर्ती हेर्दा देखिन्छ पनि त्यस्तै ।

यहाँ एउटा भुइँमान्छेमाथि तयार स्मृतिग्रन्थको चर्चा गरिँदै छ । झनकप्रसाद खीनमाया कट्टेल समाज कल्याण प्रतिष्ठान, मेचीनगर(७, आयाबारी, झापाले गत वर्ष ‘झनकबाजे ( एक भुइँमान्छे’ स्मृतिग्रन्थ प्रकाशनमा ल्याएको छ । यो झनकप्रसाद कट्टेल स्मृतिग्रन्थ हो ।

यो एक यस्ता नेराघेराका मानिसमाथि केन्द्रित रहेको स्मृतिग्रन्थ हो, जुन पत्याउन मानिसलाई गाह्रो पर्छ । कुल चार खण्डमा विभाजित उक्त स्मृतिग्रन्थभित्र पहिलो खण्डमा आत्मकथा, दोस्रो खण्डमा ९६ जना लेखकले झनकप्रसादका बारेमा लेखेका स्मृति पस्किएको छ, नितान्त आफ्नै पाराले ।

खासमा यसभित्र अधिकांशतः सोही क्षेत्रका लेखकका लेखहरू समाविष्ट छन्, जसले भुइँमान्छेले नै भुइँमान्छेको कथा भनेका छन् । यसरी थोरै उनका अग्रज, केही समकालीन र बाँकी उनका अनुज पुस्ताले उनलाई सम्झने कोसिस गरेका छन् ।

ग्रन्थको तेस्रो खण्डमा वंशावली र चौथो खण्डमा विभिन्न कालखण्डका तस्बिर समावेश छ ।

वि.सं. १९९३ साल मंसिरमा इलामको जीतपुर, नवमी गाउँमा जन्मिएका झनकप्रसाद कट्टेलको २०७७ साउन १७ गते कोरोनाका कारण बिर्तामोडमा ८४ वर्षको उमेरमा निधन भएको स्मृतिग्रन्थमा उल्लेख छ ।

झनकप्रसाद अति सामान्य साक्षर मानिस हुन् । पहाडको मध्यमवर्गीय ब्राह्मण परिवारका उनी २१ वर्षको उमेरमा अवसरको खोजी गर्दै मधेस झरेर विभिन्न ठक्कर हन्डर खाँदै मेचीनगर, मकरध्वज बस्तीमा पुगेर आफ्नो थातथलो बसाए । त्यहीँ केही जग्गाजमिन जोडे ।

ग्रन्थको दोस्रो खण्ड यसभित्रको महत्त्वपूर्ण खण्ड हो, जसमा झनकप्रसादका बारेमा लेखिएका आलेखहरूले उनको सम्पूर्ण पक्षलाई उजागर गरेको छ । त्यस बेला औलोले ग्रस्त त्यो कालापानी क्षेत्र, जहाँ आदिवासीहरूको बसोबास बहुल मात्रामा थियो, त्यस ठाउँमा पनि शिक्षाका ज्योति आवश्यक छ भन्ने ठानेर उनले विद्यालय स्थापनाका लागि काम गरे । शिक्षाप्रतिको उनको यो अनुरागलाई कम आँक्न सकिन्न !

अन्धकारलाई चिर्ने सबैभन्दा ठूलो कुरा शिक्षा हो भन्ने उनले राम्ररी बुझेका थिए । त्यो समयमा सबैका लागि शिक्षा आवश्यक छ भन्ने उनको मान्यता रहेको देखिन्छ ।

२०२१ सालमा राजा महेन्द्रले भूमिसुधार लागु गर्दा छुटेका मोहीहरूको हकहितमा उनले मालिकसँग गरेका समन्वय र हक स्थापना भएर मोही सुरक्षित हुँदा झनक मनले पाएको शान्तिको प्रसंग कम रोचक छैन ।

स्मृतिग्रन्थमा उल्लेख भएअनुसार कट्टेलले पाएको सबैभन्दा उपल्लो पद भनेको २०३९ सालको पञ्चायती व्यवस्थाको तत्कालीन काँकरभिट्टा गाउँ पञ्चायतको वार्ड २ को वडाध्यक्षको पद हो, जुन बालिग मताधिकारबाट उनले आर्जन गरेका थिए ।

उप्रान्त उनले समाज र गाउँठाउँकै विकास निर्माणका लागि आफ्नो श्रम खर्च गरेको पाइन्छ । गाउँमा बिजुलीबत्ती बाल्ने काममा अग्रसरता, पालियाखोलामा बाँध बाँधेर पैनी बनाएपछि खेतीमा सहजता – यस विषयमा उनको ज्ञान सम्मानयोग्य छ ।

गाउँसमाजमा भए परेका मरमराउ, पूजाआजा, पारिवारिक झैझगडादेखि सिमाना, आलीधुरसम्मका मिलापत्रमा समन्वयकारी भूमिका निर्वाह गर्ने काम पनि उनै झनकप्रसादले गर्नुपर्दथ्यो ।

आर्थिक उपार्जन सहज पार्न भनेर व्यापारतिर पनि उनी लागेका रहेछन् । तर, उनको स्वभाव र प्रकृतिका कारण त्यसमा लामो समय टिक्न सकेनन् । फलतः केही घाटा व्यहोरेर त्यसबाट अलग भए । र, फेरि समाजसेवातिरै लागेको स्मृतिग्रन्थका पानाहरूले मिहीन रूपमा जानकारी गराउँछ ।

सानो घेराको परिवेश र विषयवस्तु भएकाले स्मृतिग्रन्थ पनि त्यसैको सेरोफेरोमा रमाउन पुगेको छ । यस्ता मानिस पनि हाम्रै समाजमा थिए र रमाएर बस्न सके । यदि, उनीहरूको पहुँच जिल्ला, क्षेत्र हुँदै राष्ट्रियस्तरसम्म हुन्थ्यो भने चर्चा पनि सोहीअनुसारको हुन्थ्यो होला !

तर, सानै ठाउँमा रमाएका व्यक्तिहरूको पनि तत् समाजमा देन छ है भन्ने विषय बोध गराउनु यस स्मृतिग्रन्थको अभीष्ट हो भन्ने लाग्छ । उनको वैचारिक आस्था पनि पुरातन मान्यताबाट विचलित नभई पछिसम्मै एउटै रहन पुगेको देखिन्छ, जुन उनले सुरुदेखि नै अँगालेका थिए ।

झनकबाजेजस्ता सीमान्त भूगोलका सामान्य भुइँमान्छेका जीवनकथा केवल व्यक्तिगत संस्मरण मात्र होइनन्, ती त समाजको सामूहिक इतिहासका अविच्छिन्न अंश हुन् । त्यस्तो जीवनको संघर्ष, पीडा र सानोतिनो उपलब्धिहरू त्यही समय र भूगोल बुझ्ने एउटा सजीव झ्याल बन्न पुगेको छ ।

स्मृतिग्रन्थमा संकलित आलेख र घटनाहरू स्वाभाविक रूपले आकर्षक र पठनीय छन् ।

तथापि, त्यसको महत्त्व त्यतिमै सीमित छैन । वि.सं. २०२०, २०३० र २०४० का दशकहरू नेपालका लागि सामाजिक–राजनीतिक रूपान्तरणका निर्णायक कालखण्ड थिए ।

खासगरी पूर्वी नेपालका गाउँबस्तीहरूमा त्यस समयको आर्थिक गतिविधि, जमिनको स्वामित्व व्यवस्था, पारिवारिक श्रम–विभाजन र सामाजिक सम्बन्धहरू के कस्तो स्वरूपमा विकसित भइरहेका थिए भन्ने बुझ्न इच्छुक पाठकहरूका लागि यसका संस्मरणहरू उपयोगी छन् ।

‘झनकबाजे – एक भुइँमान्छे’जस्तो स्मृतिग्रन्थले एउटा व्यक्तिको जीवनीमार्फत त्यस बेलाको स्थानीय राजनीति, ग्रामीण अर्थतन्त्र, सामाजिक सहकार्य र आपसी सम्बन्धहरूको स्वरूपमा प्रकाश पार्दछ ।

यो कृति केवल परिवार वा गाउँका लागि मात्र होइन, व्यापक रूपमा नेपाली समाज र इतिहासप्रेमी पाठकका लागि पनि अध्ययनयोग्य दस्ताबेज बन्न पुग्छ भन्ने विश्वास गर्न सकिन्छ ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्